चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा मङ्गलबार १४ औं अन्तराष्ट्रिय हात्ती दिवस भव्य रुपमा मनाइएको छ ।
हात्तीको संरक्षण गरौ भन्ने सन्देश दिन युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थाले कार्यक्रम आयोजना गरी ६० वटा हात्तीलाई वनभोज खुवाएको हो । कार्यक्रममा हात्ती संरक्षण सम्बन्धी बहस र छलफल गरिएको थियो । बाघमरा मध्यवर्ती सामुदायिक वनको चौरमा आयोजित समारोहमा सौराहामा निजी स्तरमा पालेका र निकुञ्जका हात्तीहरुलाई एकैठाउँमा राखेर वनभोजका रुपमा मिष्ठान्न भोजन खुवाइएको हो ।
हात्ती संरक्षणको सन्देश प्रवाह गर्न आयोजित कार्यक्रममा हात्तीलाई केक सहित उसलाई मनपर्ने परिकार खुवाइएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तले जानकारी दिनुभयो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत पन्त, युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दिपेन्द्र खतिवडा अन्य सहभागीले हात्तीका छावालाई सख्खर र फलफूलबाट बनाइएको केक खुवाएर हात्ती दिवसको उद्घाटन गर्नु भयो ।

हात्तीलाई उखु, गाजर, बन्दा, सुन्तला, सिउडी फल, स्याउ, फर्सीलगायत झन्डै पन्ध्र प्रकारका खानेकुरा खुवाइएको युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिनुभयो । अध्यक्ष खतिवडाले हात्ती सफारीको विकल्प स्वरुप हात्तीसंग पैदलयात्र सुरु गरिएको भन्दै अझै केही समय हात्ती सफारीको विकल्प नरहेको बताउनुभयो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डाक्टर पन्तले हात्ती विना निकुञ्जको संरक्षण असम्भव भएको बताउनुभयो । हात्ती र मानब बीचको द्वन्द्वका कारण संरक्षणमा चुनौती थपिएको भन्दै उहाले धार्मिक आस्था र हात्तीको कारणले विपन्न समुदायको जीविकोपार्ननमा परेको सकरात्मक प्रभावलाई जनस्तर सम्म लैजानु पर्ने बताउनुभयो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा, क्षेत्रीय होटल संघ सौराहा, रेवान सौराहा सहित बाघमारा, चित्रसेन, कुमरोज मध्यवर्ती सामुदायिक वनसंगको सहकार्यमा हात्ती दिवस मनाइएको हो ।



