चितवन । घटना तथा दुर्घटनाबारे तत्कालै जानकारी दिनका लागि चितवनको भरतपुर महानगरपालिका–२९, सिमलताल र धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–७, चरौँदीमा विपद् इलेक्ट्रिक डिभाइस जडान गरिएको छ ।
बढी दुर्घटना हुनसक्ने स्थान छनोट गरी सशस्त्र प्रहरी बल नेपाल र लुना जिपिएस कम्पनीको सहकार्यमा केही दिनअघि हाललाई दुई ठाउँमा सो डिभाइस जडान गरिएको हो । दुर्घटना भइहालेमा उक्त डिभाइसबाट तत्कालै सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा जानकारी प्राप्त हुने छ ।
यसरी घटनाबारे साइरन बजेर दुर्घटना स्थानका बारे समेत जानकारी हुनासाथ तत्कालै उद्धारको लागि सुरक्षा फौज परिचालन हुने छ । सो डिभाइसबारे तालिम शिक्षालय कुरिनटारले जडान गरिएका स्थानका स्थानीय बासिन्दाहरूलाई जानकारी गराउनुको साथै प्रशिक्षण समेत दिएको छ ।
त्यसैगरी नारायणघाटदेखि नागढुङ्गासम्मका स्थानीय बासिन्दा तथा सो क्षेत्रमा आपद् विपद्मा परेका व्यक्ति र घटना दुर्घटना देखेका व्यक्तिले आफ्नो मोबाइलमा समेत लुना जिपिएसको एप्स डाउनलोड गरी घटनाबारे जानकारी दिन सक्ने छन् ।
एप्सभित्र रहेको एसओएस बटनमा क्लिक गर्दा त्यसभित्र रहेको चार वटा अप्सन एम्बुलेन्स, बाढि पहिरो, आगलागी र दुर्घटनाका अप्सनहरू देखिने छ, त्यसमा कुन प्रकृतिको घटना हो त्यस अप्सनमा गई क्लिक गर्दा कुन व्यक्तिले जानकारी गराएको हो विवरणसहित विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा जानकारी प्राप्त हुने छ । सो एप्सलाई डाउनलोड गरी अफलाइनमा समेत जानकारी गराउन सकिने छ ।
नारायणघाटदेखि नागढुङ्गासम्मको क्षेत्रमा प्रयोग गर्न सकिने मोबाइल एप्सले सो क्षेत्रमा हुने विपद्मा तत्काल उद्धारका लागि सहजताका साथै आम नागरिकहरूको तत्कालै उद्धार तथा राहत कार्यमा प्रभावकारिता ल्याउने विश्वास गरिएको छ ।


