चितवन । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा चितवनको भरतपुरस्थित अरोमा कलेजले उत्कृष्ट नतिजा हाँसिल गरेको छ । सोमबार साँझ प्रकाशित नतिजा अनुसार कलेजका विद्यार्थी एन्जेलिसा गुरुङ, प्रनिस रानाभाट, र प्रसिद्ध बगाले सर्वेत्कृष्ट अंक ३.९६ जिपिए ल्याएका हुन।
तीन जना विद्यार्थीले प्राप्त गरेको जिपिए चितवनकै उत्कृष्ट (चितवन प्रथम) भएको दाबी कलेजको छ । यस्तै विद्यार्थी छविलाल शर्माले ३.९५ जिपिए, आर्यन खड्का, प्रकृति गौतम र स्तुती लोहनीले ३.९४ जिपिए सहित उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको कलेजको विज्ञान संकायका कार्यक्रम संयोजक विष्णु खरेलले बताउनुभयो ।
यस्तै म्यानेजमेन्ट तर्फ पनि कलेजले उत्कृष्ट नतिजा हाँसिल गरेको छ । कलेजका विद्यार्थी आशिका पाठक ३.९ सहित जिल्ला प्रथम भएकी छन भने प्रशान्त कँडेल र प्रनिल घिमिरेले ३.८६ जिपिए सहित उत्कृष्ट नतिजा हाँसिल गरेको व्यवस्थापन संकाय संयोजक दिपेन्द्र अर्यालले बताउनुभयो । कलेजले विगतका वर्षहरुमा पनि उत्कृष्ट नतिजा हाँसिल गर्न सफल भएको थियो । यसवर्ष अरोमाबाट ८ सय ४६ जना विद्यार्थीले कक्षा १२ को परीक्षा दिएका थिए ।
राष्ट्रिय परीक्षा बोर्डद्धारा प्रकाशित नतिजाअनुसार देशभरबाट नियमिततर्फ ६१ दशमलव १७ र आंशिकतर्फ ३६ दशमलव ४९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वैशाख २१ गतेदेखि सञ्चालन गरिएको परीक्षामा नियमिततर्फ तीन लाख ९६ हजार ३४७ परीक्षार्थी सहभागी भएकामा दुई लाख ४२ हजार ७६५ विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । यसमा ३८ दशमलव ८३ विद्यार्थीले ‘ननग्रेड’ प्राप्त गरेका बोर्डले जनाएको छ ।
यस्तै, आंशिकतर्फ एक लाख १४ हजार ६४० विद्यार्थी सहभागी भएकामा ४१ हजार ८४० ले ग्रेड प्राप्त गरेका छन् । समग्रमा कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थीमध्ये दुई लाख ८४ हजार ३०५ जनाले ग्रेड प्राप्त गरेका बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । यस्तै, नियमिततर्फ ११ र आंशिकतर्फ छ गरी १७ जनाको परीक्षा रद्द गरिएको छ । ननग्रेड आएका विद्यार्थीको ग्रेडवृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन हुने बोर्डले जनाएको छ ।


