महिला नेतृत्वले धानेको माडी नगरपालिका

 

चितवन ।
चितवनको माडी नगरपालिकामा प्रमुख कार्यकारी पददेखि साना पदसम्म महिला नेतृत्वले सञ्चालन गर्दै आएको छ ।
पालिकाको प्रमुख महिला रहनु भएको छ भने विभिन्न विभागदेखि वडा अध्यक्षसम्म महिला नेतृत्वले धाने पालिका बनेको छ माडी नगरपालिका । महिलाको नेतृत्वमा प्रशासन सञ्चालन सफल हुन्छ र भन्ने नेपाली समाजमा माडी नगरपालिकाले राम्रो काम गरेर जवाफ दिएको छ । माडी नगरपालिका प्रमुख ताराकुमारीकाजी महतोले भन्नुभयो “हाम्रो समाजले अझैपनि महिलाको नेतृत्वलाई राम्रोसंग स्वीकारेको अवस्था छैन । यस्तो समयमा पनि महिला नेतृत्वले स्थानीय सरकार कुशलतापूर्व सञ्चालन गरेर देखाएको पालिका माडी हो ।”
उहाले भन्नुभयो “मैले उपप्रमुख भएर काम गरे । अहिले प्रमुख भएर काम गरिराखेको छु । काम गर्ने इच्छा शक्ति भएमा लैङगिक अवस्थाले रोक्दैन ।” जिल्लाको सात पालिका मध्य दुइवटामा महिलाको नेतृत्व छ । ती पालिकाले राम्रो काम गरेर देखाएको छ । भरतपुर महानगरपालिकाको नेतृत्व महिलाको छ । माडी नगरपालिका म आफै महिलाको नेतृत्व छ । हामीले पालिकाले उदाहरणीय काम गरेर देखाउदै आएका छौ ।
उहाका अनुसार रोजगार संयाजकमा प्रमुख महिला, उद्यम विकास शाखा प्रमुख, सामी कार्यक्रम प्रमुख, मनोसामाजिक परामर्शकर्ता प्रमुख, सामाजिका विकास शाखा प्रमुख सवैमा महिलाको नेतृत्व रहेको छ । सवैको काम उत्कृष्ट रहेको पालिका प्रमुख महतोले बताउनुभयो ।
पालिकाको प्रमुख मात्र होइन ९ वटा वडा रहेको यस पालिकामा ८ वटा वडामा महिला सचिवले जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । उहाँहरुको कामबाट आफू अत्यन्तै सन्तुष्ट भएको छु प्रमुख महतोले बताउनुभयो । लैङगिक कारणले केही फरक पर्दैन उहाँहरुमा काम गर्ने दक्षता क्षमता रहेको छ त्यही क्षमता प्रस्तत गरेर काम गर्नु भएको छ हामीलाई कुनै समस्या छैन महतोले भन्नुभयो ।
९ वटा वडा रहेको माडी नगरपालिकामा एउटा वडा मात्र महिलाले अध्यक्षमा नेतृत्व सम्हाल्नु भएको छ । वडा नंं ७ को अध्यक्ष चन्द्रकुमारी बानियाँले भन्नुभयो “ महिला भएकै कारण काम गर्न समस्या भएको छैन । कहिलेकाही विहान वेलुका राति कुनै घटना भएको वेला पुरुष सरह छिटो जानलाई भने समस्या पर्ने गरेको छ । अन्य अवस्थामा काम गर्नको लागि कुनै व्यवधान भएको छैन ।” अन्य पालिकाका वडा अध्यक्ष पुरुष हुनुुहन्छ उहाँहरुले गर्ने काम र मैले गर्ने काम एउटै हो जनप्रतिनिधि भएपछि जनताको काम गर्ने हो वडाको विकास, निर्माण जनताको प्रत्यक्ष सरोकारका काम सम्पन्न गर्दै आएका छौ वडा अध्यक्ष वानियाँले भन्नुभयो ।
विवाद समाधान, योजना तर्जुमा, आपतकालिन अवस्था, निकुञ्जको जनवारको जोखिमता, रिउ खोलाको कटान लगायतका काममा जनताको घरघरमा पुगेर काम गरेको छु । जनतालाई पुरुष र महिलाको नेतृत्वमा हुने कुनै फरक पन देखिएको छैन उहाले भन्नुभयो ।
वडा नं. ४ का वडा सचिव सुशिला दाहालले भन्नुभयो “वडाका काम लिएर आउने सेवाग्राहीले सचिव ज्यु कता जानु भएको छ भनी मलाई नै सोध्ने गरेका छन् । सचिव म नै हो भन्दा सर हुनुहुन्न र भन्नु हुन्छ । सचिव भनेको पुरुष हुनु पर्छ भन्ने मान्यता अझै कायम रहेको पाएको छु ।” म मात्र होइन पालिकाको वडा नं. १ बाहेक अन्य सवै वडामा महिला सचिव हुनुहुन्छ उहाले भन्नुभयो । हामी कार्यालयको काम गरिसकेपछि साथीभाइ भनेर लामो समय बाहिर बस्दैनौ काम भए अवेला सम्म वस्छौ काम नभए घर जान्छौ फरक यती हुने गर्दछ । पुरुष हुनु भयो भने साथीभाइ भनेर कार्यालय समय बाहेकको समयमा वसेर समय बिताउनु हुन्छ हामीमा त्यो वानी हुदैन दहालले भन्नुभयो ।
भरतपुर वडा नं. ६ स्थायी घर भएको उहाले भन्नुभयो आफ्नै साधनमा भरतपुरबाट माडी जादा निकुञ्जको पोष्टमा चालक र साधन नम्वर लेखाउदा पुरुष चाकल खोज्नु हुन्छ । तर आफै गाडी चालक हो भन्दा सुरक्षार्थ सेनाले पत्याउनु हुन्छ दाहालले भन्नुभयो । काम गर्दै जादा पुरुषले गर्ने काम महिलाले गरेको भन्दा सुरुमा पत्याउन गाहे हुने अवस्था भने अहिले पनि नभएको उहाले बताउनुभयो ।

 

 

शेयर गरौ

ताजा अपडेट