चितवन ।
चितवन जिल्लामा २५ हजार ७३३ घरपरिवार बाढी पहिरोको जोखिममा रहेको पाइएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जिल्लाका सात पालिकामा वाढी र पहिरोको जोखिममा २५ हजार भन्दा धेरै घरपरिवार रहेको बताउनुभयो । जिल्लाका सात पालिकामा रहेका एक लाख २८ हजार ६६५ जनसङ्ख्या वर्षातका कारण प्रभावित बन्ने देखिएको छ । उहाँका अनुसार बाढीका कारण सबैभन्दा बढी पूर्वी चितवनमा रहेको राप्ती नगरपालिका परेको छ । यस पालिकामा १० हजार १०९ घरका ५० हजार ९५० जना प्रभावित बन्ने तथ्याङकले देखाएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार भरतपुर महानगरपालिकामा छ हजार ६३५ घरका ३३ हजार १७५, माडी नगरपालिकाका तीन हजार ९४६ घरका १९ हजार ७३० जना, रत्ननगर नगरपालिकाका दुई हजार ३८१ घरका ११ हजार ९०५ जना प्रभावित बन्ने प्रारम्भिक विवरण रहेको छ ।
कालिका नगरपालिकाका एक हजार पाँच परिवारका पाँच हजार २५ जना, खैरहनी नगरपालिकामा तीन सय २० परिवारका एक हजार ६००, इच्छाकामना गाउँपालिकामा एक हजार २५६ परिवारका छ हजार २८० जना प्रभावित हुने देखिएको प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जानकारी दिनुभयो ।
बाढीका कारण हुन सक्ने घटनालाई मध्यनजर गर्दै सुरक्षाका लागि सबै तयारी गरिएको पौडेलले बताउनुभयो । वाढीको जोखिममा रहेका नदी तटीय क्षेत्रका वासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरिएको छ । साथै, उद्धारका लागि सबै संरचना तयारी अवस्थामा राखिएको उहाले बताउनुभयो । आवश्यक खाद्यान्न, स्वास्थ्य सामग्री, उद्धार सामग्री तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ, प्रमुख जिल्ला अधिकारी पौडेलले भन्नुभयो ।
जिल्लामा नारायणी नदी, त्रिशुली नदी, राप्ती, लोथर, रिउखोला, कयर खोलाले जोखिम निम्त्याउने गरेको छ । नारायणी नदीमा निर्माण भएको तटवन्धनले केही सुरक्षा प्रदान गरेपछि तटवन्धन नभएको स्थानमा जोखिम भने कायम रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । पूर्वी चितवनका साना तथा ठाडो खोलाले जोखम निम्त्याउन सकिने भएकाले सतर्कता अपनाएको जानकारी दिनुभयो ।


