हेटौडा । नेपाली कांग्रेस बागमती संसदीय दलको बैठक बस्दैछ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामामाथि आफ्नै पार्टी नेपाली कांग्रेसका प्रदेश सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेपछि सो बारेमा निर्णय लिन बैठक बस्न लागेको हो । प्रदेश राजधानी हेटौडामा बिहान १० बजे सो बैठक बस्नेछ ।
अनौपचारिक छलफलबाट संसदीय दलको नेता चयनका विषयमा केन्द्रीय प्रतिनिधिले सांसदहरूबीच सहमति जुटाउन हिजो दिनभर र राति अबेरसम्म प्रयास गरे पनि नसकेपछि आज १० बजेका लागि पुनः बैठक बोलाइएको हो । बागमती प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट ३७ जना सांसद छन्, जसमध्ये २३ जनाले अविश्वासको प्रस्ताव राखेका छन् ।
९ साउनमा हेटौंडास्थित प्रदेशसभा सचिवालयमा रहेको दलको कार्यालयमा २१ जना बहुमत सांसदले लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । अविश्वास प्रस्तावमा इन्द्रबहादुर बानियाँलाई नयाँ दलको नेता चयन गर्न अनुरोध पनि गरिएको छ ।
सोमबार दिनभर भएको छलफलमा बानियाँ पक्षले यसलाई तत्कालै टुंग्याउनुपर्ने अडान लिएको थियो । मुख्यमन्त्री लामा पक्षले भने दक्षिण कोरिया भ्रमणबाट आर्थिक मामिलामन्त्री कुन्दनराज काफ्ले सोमबार राति स्वदेश फर्किने भएकोलगायतका कारण देखाएर अविश्वास प्रस्ताव माथिको प्रक्रियालाई पछाडि धकेल्न खोजेको थियो ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलभित्र अघि बढेको आन्तरिक प्रक्रियालाई सहमतिमा टुंग्याउने प्रयास भइरहेको सांसद बानियाँले बताए ।
पार्टी केन्द्रबाट खटिएका प्रतिनिधि केन्द्रीय सदस्य राजन केसी र प्रदेशका सांसदहरुबीच आन्तरिक प्रक्रियालाई निश्कर्षमा पुर्याउन सोमबार दिनभर संवादबाट समस्या समाधान गर्न सकिने विश्वासका साथ प्रयास गरिएको उनको भनाइ थियो ।
पूर्व कानुनमन्त्री तथा सांसद सुरजचन्द्र लामिछानेले १० बजे अघिसम्म सहमतिको प्रयास खोजिने र सहमति हुन नसके अविश्वास प्रस्तावलाई मतविभाजनबाट आज मंगलबार नै टुंगो लगाइने सहमति दुवै पक्षबीच भएको बताए ।
संसदीय दलको कार्यालयले १० बजेपछि अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुको सनाखतको प्रक्रिया अघि बढाउने तयारी गरेको छ । अविश्वास प्रस्तावको मत विभाजनबाट दलमा अल्पमत परेसँगै लामा मुख्यमन्त्री छोड्नुपर्ने नैतिक दबाबमा पर्छन् । मत विभाजनबाट बहुमत सांसदलाई पुनः आफ्नो पक्षमा पार्न सके उनी दलको नेता नै कायम रहने छन् ।
प्रदेशसभामा कांग्रेसको ३७ सांसद छन् । दलको नेता हुन १९ जना सांसदको समर्थन भए पुग्छ । तत्कालीन मन्त्रीहरु सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन, विमल ठकुरी, मदुकुमार श्रेष्ठले राजीनामा दिएर अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेपछि मुख्यमन्त्री लामा संकटमा परेका थिए ।
उनीहरुको राजीनामामाथि कुनै कारबाही नगरी मुख्यमन्त्री लामाले सोही दिन साँझ पदमुक्त गरेको पत्र प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई पठाएका थिए । बागमतीको विवाद समाधानका लागि पार्टीको जिम्मेवारी लिएका केन्द्रीय सदस्य राजन केसी आइतबार नै हेटौंडा आएर परामर्श थालेका थिए । मुख्यमन्त्री लामा भने काठमाडौंबाट सोमबार मात्रै हेटौंडा आएका थिए ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँ लामालाई हटाएर आफू मुख्यमन्त्री बन्ने कसरतमा छन् । मुख्यमन्त्री बन्न संसदीय दलको नेता हुनुपर्ने विधानतः व्यवस्थाले लामामाथि अविश्वासको प्रस्ताव दर्ता भएको हो । बानियाँ र लामा दलको नेता बन्न १३ पुस २०७९ मा संसदीय दलको निर्वाचन लडेका थिए ।
दलको निर्वाचनमा लामासँग बानियाँ ५ मतले पराजित बने । लामाले २१ मत ल्याउँदा बानियाँले १६ सांसदको मात्रै समर्थन पाएका थिए । प्रदेशसभाको पहिलो कार्यकाल (२०७४–७९) मा पूरा पाँच वर्ष बानियाँ दलको नेता थिए । त्यतिबेला उनी मुख्यमन्त्री हुन सकेनन् ।


