काठमाडौँ, २६ फागुन । इथियोपियामा भएको विमान दुर्घटनामा १५७ जनाको मृत्यु भएको छ ।
इथियोपियाको राजधानी एडिस अबाबाबाट केन्याको नैरोवीतर्फ जाँदै गरेको जेट विमान उडेको ६ मिनेटमै दुर्घटनामा परेको थियो । दुर्घटनामा परि विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरुको मृत्यु भएको इथियोपियन एयरलाइन्सले जनाएको छ ।
विमानमा १ सय ४९ जना यात्रु र चालक दलका ८ जना सदस्य रहेका थिए । इथियोपियन एयरलाइन्सले विमानमा विभिन्न ३३ देशका नागरिक रहेको बताएको छ । बोइङ ७३७ म्याक्स ८ विमान स्थानीय समय अनुसार विहान ८ बजेर ४४ मिनेटमा दुर्घटनामा परेको हो ।
इथियोपियाको सरकारी सञ्चार माध्यम इथियोपियन ब्रोडकास्टिङ कर्पोरेसनले विमानमा कोही पनि जीवित नरहेको बताएको उल्लेख गरेको छ ।
प्रत्यक्षदर्शीले विमान जमिनमा ठोक्किएर ठूलो आवाज आएको र चर्को आगो बलेको बीबीसीसँग बताएका छन् । दुर्घटनाको कारण भने अहिलेसम्म खुलेको छैन ।
दुर्घटना राजधानीदेखि ६० किलोमिटर दक्षिण पूर्वी क्षेत्र बिसोफ्टु नजिक भएको इथियोपिष्न एयरलाइन्सले उल्लेख गरेको छ ।