चितवन ।
जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चितवनले एघार महिनामा ४४ हजार ९७२ जनालाई बहिरंग (ओपिडी) सेवा प्रदान गरेको छ ।
चिकित्सालयका प्रमुख डा. कोपिला अधिकारीले आयुर्वेद उपचार पद्धतीमा विरामीको विश्वास वढ्दै गएपछि उपचार गराउन आउनेको सङख्या वढेको जानकारी दिनुभयो । पत्रकार अन्तरक्रिया कार्यक्रममा उहाले परम्परागत ज्ञान र आधुनिक स्वास्थ्य सेवाको संयोजनमार्फत चितवनमा स्वास्थ्य क्रान्तिको थालनी गरेको बताउनुभयो ।
उहाले ओपिडी सेवामा २४ हजार २२२ महिला र २० हजार ७५० पुरुषले सेवा लिएको बताउनुभयो । यो अवधिमा चिकित्सालयले ४१ हजार ४३९ जनालाई पूर्वकर्म÷पञ्चकर्म उपचार गरेको छ । ८८१ जनालाई स्तनपायी आमा सेवा, ६ हजार ८०७ ज्येष्ठ नागरिकलाई विशेष सेवा, १ हजार १३० जनालाई योग, ६ हजार १६ जनालाई प्याथोलोजी (ल्याब), ४ हजार २७० जनालाई नागरिक आरोग्य, १ हजार ७ जनालाई अकुपञ्चर र ८३२ जनालाई फिजियोथेरापी सेवा प्रदान गरेको उहाले जानकारी दिनुभयो ।
५३ जनाले अल्ट्रासाउण्ड र ३२ जनाले अन्तरंग (बिरामी भर्ना) सेवा लिएका छन् । यो वर्ष चिकित्सालयले क्षरसूत्र विधिबाट ९ जनाको शल्यक्रिया सम्पन्न गरेको छ । “अन्तरंग सेवाको शुरुआतमा जनशक्ति अभावले केही चुनौती भए पनि हामीले सेवा विस्तारमा उल्लेखनीय प्रगति गरेका छौ,” डा. अधिकारीले भन्नुभयो ।
आर्थिक वर्ष २०८१÷०८२ मा चिकित्सालयले संङ्घीय सशर्त अनुदानबाट चालुतर्फ ९७ प्रतिशत र पूँजीगततर्फ ७८ प्रतिशत प्रगति गरेको छ । प्रदेश अनुदानबाट चालुतर्फ ७८ प्रतिशत र पूँजीगततर्फ ९९ प्रतिशत प्रगति भएको छ । यो अवधिमा चिकित्सालयले नयाँ भवन उद्घाटन, अन्तरंग सेवा, क्षरसूत्र, सद्योवमन, सद्योविरेचन, आस्थापन वस्ती, जलौका, मर्म र अग्निकर्म चिकित्सा जस्ता सेवा सुरु गरेको बताउनुभयो ।
चिकित्सालयले कार्यालय बाहिर पनि विभिन्न नवीन कार्यक्रम सञ्चालन गरेको छ । “भान्साघर औषधालय कार्यक्रममार्फत हामीले घरेलु औषधिको प्रयोगबारे जनचेतना फैलाएका छौ,” डा. अधिकारीले भन्नुभयो । पूर्ण स्तनपान प्रवद्र्धन, होमस्टे र पर्यटन व्यवसायीका लागि आयुर्वेद र योग अभिमुखीकरण, आरोग्य अभियान, स्वस्थ जीवन प्रवद्र्धन, स्वर्णविन्दु प्रशासन र स्वास्थ्यकर्मीका लागि क्षमता अभिवृद्धि तालिम जस्ता कार्यक्रमले स्थानीय समुदायमा आयुर्वेदको महत्व स्थापित गरेको छ ।
अन्तरक्रिया कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र अधिकारीले आयुर्वेदको सही प्रयोगले दीर्घरोग नियन्त्रणमा सहयोग पुग्ने बताउनुभयो । “हाम्रो भान्सामा औषधीय गुण भएका वस्तु छन्, तिनको सही उपयोग गर्न हामीले पनि सिक्नुपर्छ,” उहाले भन्नुभयो । आयुर्वेद सेवालाई टोल–टोलमा पु¥याउन आफूले सक्दो प्रयास गर्ने बताउनुभयो ।


