रसुवा, ।
रसुवाको वाढीमा फसेरका एसय त्रिचालिस जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।
रसुवा प्रशासनले दिएको जानकारी अनुसार चीनको केरुङ क्षेत्रमा अलपत्र परेका ९१ जना नेपाली नागरिकलाई चिनियाँ प्रशासनले सुरक्षित रूपमा राखेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दु्रवप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
उनीहरूलाई खानपान, आवास, औषधोपचार लगायत सम्पूर्ण आवश्यक सहयोग प्रदान गरिएको र दुवै मुलुक बीच समन्वय निरन्तर भइरहेकाले अवस्था नियन्त्रणमा आएको उहाले विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ । बेपत्ता भएकाहरूको खोजतलासका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको संयुक्त टोली खटिएको छ ।
त्यस्तै, स्याफ्रुवेशी–टिमुरे पदमार्ग हुँदै हालसम्म १४३ जनाको सुरक्षित उद्धार गरिएको छ । उद्धार गरिएका मध्ये १६ जना महिला, १२४ जना पुरुष र ३ जना बालबालिका छन् । साथै, निजी हेलिकप्टरमार्फत थप १२ जना नागरिकलाई हवाईमार्गबाट उद्धार गरिएको छ ।
असार २४ गते बिहान चीनतर्फको सीमा क्षेत्रबाट अकस्मात् आएको बाढीले रसुवाको रसुवागढी क्षेत्रमा ठूलो जनधन तथा भौतिक क्षति पु¥याएको छ । विपद्पछिको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय रसुवाले जारी गरेको आधिकारिक विवरण अनुसार, उद्धार तथा पुनःस्थापना कार्य तीव्र गतिमा अघि बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी द्रुव अधिकारीले जानकारी दिनुभयो ।
बाढीका कारण बन्द भएको सञ्चार र विद्युत सेवा असार २६ गते बिहान ११ बजेदेखि पुनः सञ्चालनमा ल्याइएको छ । स्याफ्रुवेशी–रसुवागढी सडकखण्ड बाढीले क्षतिग्रस्त बनाएपछि त्यसको पुनःनिर्माण कार्यमा लाङटाङ, रसुवागढी, लाङटाङ भोटेकोशी जलविद्युत आयोजनाको संयोजनमा जेसीबी, एक्जाभेटर र ब्रेकर जस्ता हेभी इक्युपमेन्ट प्रयोग गरिएका छन् । सडक विभाग र स्थानीय निकायबीच समन्वय गर्दै थप स्रोतसाधन परिचालन भइरहेको अधिकारीले बताउनुभयो ।
बाढीले केवल जनजीवन मात्र नभई ऐतिहासिक सम्पदा पनि नष्ट पारेको छ । गोसाईकुण्ड गाउँपालिका–२ मा अवस्थित ऐतिहासिक रसुवागढी किल्लाको करिब ७ मिटर पश्चिम पर्खाल कटान भएर भत्किएको छ । सोही क्षेत्रमा रहेको पुरानो काली मन्दिरसमेत पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रशासनले जनाएको छ ।
रसुवा भन्सार कार्यालय टिमुरेको यार्डमा फसेका ४ वटा विद्युतीय गाडी र ४ वटा कन्टेनरलाई सुरक्षित स्थानमा सारिएको छ । यार्ड क्षेत्रभित्र थुप्रिएको करिब १०० मिटर लम्बाइको मलबा हटाइएको छ । त्यहाँ खोज तथा उद्धार कार्य अझै जारी रहेको अधिकारीले जानकारी दिनुभयो ।
यसैबीच, त्रिशुली नदीको बहावसहित बग्दै आएका शवहरू अन्य जिल्लाहरूमा फेला पर्न थालेका छन ्। चितवनको इच्छाकामना गाउँपालिका–६ मा कालीखोलास्थित त्रिशुली नदी किनारमा एक शव भेटिएको छ। त्यस्तै, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनयी त्रिवेणी गाउँपालिका–७ को नेपाल–भारत सीमास्थित ब्यारेज पुलमा अर्को शव भेटिएको छ । दुबै शव परीक्षणका लागि टिचिङ अस्पतालमा पठाइएको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय रसुवाले “व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सशासन“ भन्ने मूल मन्त्र अनुसार समग्र राहत, उद्धार तथा पुनःस्थापना कार्यलाई युद्धस्तरमा अगाडि बढाइएको जनाएको छ । घटनाका सबै पक्षहरूको समन्वयमा रसुवामा जनजीवन सामान्य बनाउने कार्य निरन्तर जारी रहेको छ ।


