शालिग्राम नेपाल
चितवन ।
वर्तमान कानूनी व्यवस्था र संविधानको विषयमा जानकारी गराउन खैरहनी नगरपालिकाले कानूनी साक्षरता कक्षा सञ्चालन गरेको छ ।
नगरपालिकाको न्यायिक समिति मार्फत विद्यालय तहका बालबालिकालाई विद्यमान कानूनी व्यवस्थाको विषयमा कक्षा सञ्चालन गरेको हो । नगरपालिका भित्रका आधारभूत विद्यालय, माध्यमिक विद्यालय, महिला समुह, विभिन्न पछाडि पारिएका वर्ग तथा समुदायमा कानूनी साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो ।
खैरहनी नगरपालिका उपप्रमुख कविता उप्रेतीले न्यायिक समितिमा कानूनी उपचारको लागि आउनु भन्दा आफ्नै घर गाउँबाटै विवाद समाधान गर्न सकियोस भनेर कानूनी साक्षरता सञ्चालन गरेको बताउनुभयो । विद्यमान कानूनी व्यवस्था के कस्तो छ । गाउँघरमा भइरहने समस्यालाई कसरी समाधान गर्न सकिन्छ, उपचार कहाँ र कसरी लिने, कस्तो अवस्थामा के सजाय हुन्छ भन्ने विषयहरु साक्षरतामा सिकाउने गरेका हुन्छौ उहाले भन्नुभयो ।
सामान्यतय गाउँघरमा झगडा, साँध कुलोको विवाद, देवानी प्रकृतिका मुद्दाहरु हुने गर्दछ । यस्तो अवस्थामा कसरी समाधान गर्न सकिन्छ भन्ने विषय ग्रामिण तहमा नै जानकारी दिन सकेमा मुद्दाको चाप माथि आउदैन । विद्यालयका बालबालिका, पिछडिएका वर्ग, समुदाय, सामुदायिक वन समितिका सदस्य तथा महिला समुहका व्यक्तिहरुलाई कक्षा सञ्चालन गरेको उहाले बताउनुभयो ।
कंकाली माध्यमिक विद्यालयका प्रधानाध्यापक शम्भु वतौलाले विद्यार्थीलाई नै कानून सम्वन्धी जानकारी मुलक शिविर सञ्चालनले धेरै प्रभावकारी भएको बताउनुभयो । विद्यालय तहमा सामाजिक विषयमा कानून सम्वन्धी पाठ समावेश भएकाले विज्ञबाट कक्षा सञ्चालन हुदा विद्यार्थीले जानकारी पाउने अवसर प्राप्त भएको बताउनुभयो । गाउँघरमा हुने विवाद समाधानका विषयमा बालबालिकाले जानकारी पाउने, विवाद पछि हुने झन्झट समाधान गर्न उपाय अपनाउने, सजायको व्यवस्थाको विषयमा पहिलानै जानकारी पाएमा विवाद कम हुन यस्ता कार्यक्रमले सकरात्मक प्रभाव पारेको प्रधानाध्यापक बर्तौलाले बताउनुभयो ।

जनजीवन माध्यमिक विद्यालयका प्रधानाध्यापक अञ्जना आचार्यले हिंसा, हत्या, झगडा, विवादबाट कस्ता समस्या आउछ्न र कानूनी सजाय कस्तो हुन्छ भन्ने कुरा जानकारी पाएको बताउनुभयो । साक्षरता कक्षाले बालबालिकाको क्षमता वृद्धि भएको, आधारभूत कानूनी व्यवस्थाको विषयमा जानकारी पाउन सकेको उहाले भन्नुभयो । विज्ञ व्यक्तिबाट हुने यस्ता कार्यक्रम वर्षमा कम्तीमा दुइ पटक हुनु पर्ने उहाँको भनाइ छ ।
न्यायिक समितिले कक्षा ६ देखि १२ सम्मका बालबालिकालाइ साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । खैरहनी नगरपालिका न्यायिक समितिका कानूनी सहजकर्ता तथा अधिवक्ता सञ्जय चौधरीले सामुदायिक तथा सस्थागत गरी १२ वटा भन्दा धेरै विद्यालयमा कानूनी साक्षरता कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । यी भन्दा बाहेक नगरपालिका परिसरमा नै विभिन्न समुदायका व्यक्ति, समुहगत रुपमा वर्ग समुदायलाई तालिम दिएको बताउनुभयो ।

पालिकाले ग्रामिण क्षेत्रका महिला, थारु वर्गका महिलालाई शिविर चलाएको छ । कार्यक्रम सञ्चालन अगाडि वस्न नमान्ने महिलाहरु शिविर पछि धेरै कुरा जानकारी पाएको भन्दै फेरी नयाँ विषय सिकाउन माग गरेको समितिका कानूनी सहजकर्ता चौधरीले बताउनुभयो ।
ग्रामिण क्षेत्रमा शिविर सञ्चालनसंगै सवै वडा सदस्य, प्रहरी, मालपोत कार्यालय, प्रहरी, नापी कार्यालयका प्रमुख वातावरण शाखाका प्रतिनिधि लगायतका वर्गलाई न्यायिक अन्तरसंवाद सञ्चालन गरेर आफ्नै तहबाट विवाद समाधान गर्न सक्ने बनाएको उहाले बताउनुभयो । पालिकाको रोजगार सेवा केन्द्रका संयोजक रमेश पौडेलले वैदेशिक रोजगारको विषयमा आइ पर्ने समस्या समाधान तथा परामर्श दिएको बताउनुभयो । श्रमस्वीकृतिका लागि अपनाउनु पर्ने विषय, वैदेशिक रोजगारीमा देखिने जटिलता, विदेश गएका व्यक्ति तथा परिवारलाई लागेको गम्भिर प्रकृतिका रोगको लागि पालिकाले दिने आर्थिक सहयोगको विषयमा जानकारी दिएको बताउनुभयो ।


