रसुवामा बाढी :दश स्थानमा सडक भत्कियो उद्दारमा कठिनाइ

रसुवा।
चीनको तिब्बतबाट बग्ने लेन्दी खोलामा मंगलबार बिहान आएको भीषण बाढी र पहिरोले गोसाइँकुण्ड गाउँपालिका तहसनहस भएको छ। गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार बाढी र पहिरोले कम्तीमा ९/१० स्थानमा सडक भत्काउँदा उद्धार तथा राहत कार्य ठप्पजस्तै भएको छ।
‘नौ/दश ठाउँमा बाटो भत्किएको छ, उद्धार र राहत सम्भव छैन जस्तो भयो,’ अध्यक्ष तामाङले बताउनुभयो।बाढीले टिमुरे र रसुवागढी क्षेत्रमा अत्यधिक क्षति पुर्‍याएको छ। नेपाल–चीन जोड्ने मितेरी पुल पूर्ण रूपमा बगाइसकेको छ। ड्राइपोर्टमा राखिएका विद्युतीय गाडीहरू बगाएका छन् भने हालसम्म १५ जना बेपत्ता छन्, जसमध्ये ३ जना नेपाल प्रहरी र केही चिनियाँ नागरिक छन्।
उहाँका अनुसार अहिलेसम्म ९ जनाको उद्धार भएको छ। तर मौसम प्रतिकूल भएकोले थप उद्धार कार्य जटिल बनेको छ।
स्थानीय बस्तीमा बाढी पसेको छैन, तर खोलाको किनारमा रहेका हाइड्रोपावर र ड्राइपोर्टका संरचनाहरूमा गम्भीर क्षति भएको जनाइएको छ।
अध्यक्ष तामाङ अहिले सदरमुकाम धुन्चेबाट समन्वय गरिरहेका छन्।‘माथिल्लो क्षेत्रमा पानी पर्न अझै नरोकिएकोले जोखिम कायमै छ, सबैलाई सतर्क रहन आग्रह गर्दछु,’ उहाँले भन्नुभयो।

शेयर गरौ

ताजा अपडेट