चितवन ।
पश्चिम चितवनको जगतपुरमा समुुदायका उन्नाइस जनालाई विपद् स्वयम्सेवक तालिम दिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १७ गण हेड क्वाटर चितवनले आयोजना गरेको तालिममा पाँचजना महिलासहित १९ जनालाई तालिम दिएको हो । तालिममा ग्याँसको आगोबाट बच्ने उपाय, बाढी वा खोलानदीमा डुुबेमा उद्दार गर्ने तरिका, दमकलको प्रयोग गरि आगो निभाउने, रुख वा भीरबाट खसेमा उद्दार गर्ने, अग्लो घरमा आगलागी भएमा आगो निभाउने तथा मानिसलाई उद्दार गर्ने, सवारी नपुग्ने ठाउँमा डोरीको सहायताले उद्दार गर्नेलगायतका विधिहरु सिकाइएको थियो ।
तालिममा सहभागीलाई प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, सशस्त्र प्रहरी बल गढिमाई गण, भण्डाराका सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुुमार पोखरेलले प्रमाणपत्र प्रदान गर्नु भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले समुुदायस्तरमा स्वयम्सेवक तालिम दिदा विपद्मा हुनसक्ने मानवीय क्षतिलाई न्यूनिकरण गर्न सकिने बताउनुुभयो । उहाँले विद्यालयस्तरमा पाठ्यक्रममानै समावेश गरेर विपद् न्यूनिकरण सम्बन्धी शिक्षा दिन सकिए यसबाट हुने जोखिमबाट बचाउन मद्दत पुुग्ने धारणा पनि राख्नुभयो ।
सशस्त्र प्रहरी बल गढिमाई गण, भण्डाराका सशस्त्र प्रहरी नायब महानिरीक्षक पोखरेलले सशस्त्र प्रहरी बलले वागमती प्रदेशमा समुदायस्तरमा विपद् स्वयम्सेवक तालिम सञ्चालन गरेको यो पहिलो पटक भएको जानकारी दिनुभयो । समुदायस्तरमा विपद् व्यवस्थापन स्वयम्सेवकहरु उत्पादन हुँदा विपद् व्यवस्थापन टोली आउनु अगाडि नै उनीहरु सक्रिय भएर क्षति न्यूनिकरणमा सहयोग पुग्ने बताउनु्भयो । जगतपुर विपद् जोखिमका हिसाबले संवेदनशील ठाउँ भएकोले वागमती प्रदेशमा स्वयम्सेवक तालिमका लागि यस ठाउँलाई शुरुमै रोजिएको सशस्त्र प्रहरी नायव महानिरीक्षक पोखरेलको भनाई थियो ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १७ गण हेड क्वाटर, चितवनका सशस्त्र प्रहरी उपरीक्षक धिरेन्द्र न्यौपानेले विपद् जोखिमका हिसाबले चितवनका संवेदनशील ठाउँहरुमा सशस्त्र प्रहरीको टोली राख्ने काम हुँदै गरेको र सोका लागिसमेत स्थानीय विपद् स्वयम्सेवकहरुबाट थप सहयोग पुग्ने बताउनुभयो ।
भरतपुर महानगरपालिका वडा नम्बर २३का वडा अध्यक्ष दीपक दवाडीले बाढी तथा जंगली जनावरको अत्याधिक जोखिम भएको ठाउँमा तालिम उपयुक्त भएको बताउनुभयो । माथिल्ला नेतृत्वले बजेट बिनियोजन गर्दा संवेदनशील र अति आवश्यक ठाउँलाई विशेष प्राथमिकतामा राखेर बजेट छुट्याइदिन आग्रह गर्नुभयो । प्रशिक्षार्थीहरुलाई सशस्त्र प्रहरी नायव उपरीक्षक मनोज गुरुङको नेतृत्वमा सशस्त्र प्रहरीका नौ जना प्रशिक्षकले तालिम दिनुभएको थियो ।