चितवन, ।
नारायणगढ बुटवल सडक खण्डको दुम्कीबास स्थित विनयी खोलामा निर्मित पुलबाट बिहीबारदेखि यातायात सञ्चालन गरिएको छ । गत पुस २६ गते विनयीमा रहेको फलामे पुल भाँच्चिएपछि यहाँबाट ओहोर–दोहोर गर्ने मालबाहक गाडीलाई डाइभर्सनबाट पालैपालो आउजाउ गराइँदै आएको थियो । बिहीवारबाट सोझै विनयी पुलबाट सबै गाडी गुड्न थालेको बुटवल–नारायणगढ सडक आयोजना पूर्वी खण्डका प्रमुख इन्जिनियर ईश्वर बहादुर रिजालले जानकारी दिए । उनका अनुसार बिहीबार मध्याह्न १२ बजेदेखि पक्की पुलबाट यातायात सञ्चालन भएका हुन् ।
२१ करोडका लागतमा २४५ मिटर लम्बाइको पुल बनेको छ । यहाँबाट एक पटकमा १०० टनमात्र मालसामान ढुवानी हुन सक्ने आयोजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए । पुलबाट यातायात सञ्चालन भएपछि मालबाहक गाडी समेत यहि पुल हुँदै वारपार गरेका छन् । बिहीवारबाट डाइभर्सन हुँदै आउजाउ गर्नुपर्ने बाध्यता हटेको छ । पानी पर्नासाथ बाढीले डाइभर्सन बगाउने बाध्यता समेत थियो । आयोजनाका अनुसार अहिलेसम्म ९ पटक बाढीले डाइभर्सन बगाएको छ । पूर्वी सडकखण्डमा
३४ वटा पुल रहेका छन् । त्यसमध्ये ३१ वटा पुल निर्माण भइसकेको खनालले जानकारी दिए । उनका अनुसार जयश्री, गिरुबारी र अरुणखोलामा पुल निर्माण हुँदैछ । यस सडक खण्डको सास्ती भने अझै बाँकी छ । दाउन्ने सडक खण्डको १४ किलोमिटर सडकमा पानी पर्ना साथ गाडी फस्ने हुँदा घण्टौँ जाममा पर्नुपर्ने बाध्यता यथावत छ । यस सडकखण्डको प्रगती ६९ प्रतिशत भएको छ । यसको म्याद साउन ८ गते सकिन्छ