काठमाडौं । निर्वाचन आयोगले रूपन्देही क्षेत्र नं. ३ मा आगामी १७ कात्तिकमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सोमबार बसेको बैठकले उपनिर्वाचन मिति तय गरेको हो ।
चर्चामा कांग्रेसका खाँण, एमालेका भट्टराईदेखि एसका भुसालसम्म
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित दीपक बोहोराको निधनका कारण त्यहाँ उपनिर्वाचन हुन लागेको हो । बोहोराको १९ चैत २०८१ मा निधन भएको थियो ।
आयोगले उपनिर्वाचनको मिति घोषणा गरेसँगैै अब सो क्षेत्रमा चुनावी सरगर्मी बढ्नेछ । त्यसो त केही समय अघिदेखि नै दलहरूले उम्मेदवारका विषयमा छलफल र चर्चा गर्न थालिसकेका थिए । यस क्षेत्रमा विशेषगरी कांग्रेस, एमाले, माओवादी, राप्रपा र मधेशवादी दलहरू आन्तरिक तयारीमा जुटिरहेका थिए ।
२०७९ सालको निर्वाचनमा सो क्षेत्रमा बोहोराले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई हराएका थिए । राप्रपाका बोहोराले ३६ हजार ७ सय १७ मत ल्याएर विजयी हुँदा कांग्रेसका खाँणले ३४ हजार ३६ मत प्राप्त गरेका थिए । त्यसबेला कांग्रेसका हेभीवेट उम्मेदवार खाँणलाई हराउन एमालेले बोहोरालाई सहयोग गरेको थियो ।
स्थानीय तहको २०७९ सालको परिणामअनुसार यस क्षेत्रमा कांग्रेस बलियो हुँदाहुँदै पनि हार बेहोर्नुपरेको थियो । सात पालिकामध्ये कांग्रेसले माओवादीसँगको गठबन्धनमा ६ वटामा प्रमुख र २ पालिकामा उपप्रमुख जितेको थियो । स्थानीय तह निर्वाचनमा एमालेले १ पालिकामा प्रमुख र ४ पालिका उपप्रमुख जितेको थियो । लोकतान्त्रिक समाजवादीले १ पालिकामा उपप्रमुख जितेको थियो ।
रूपन्देही–३ मा बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिकालाई समेटिएको छ । नेपाल–भारत सीमाक्षेत्र बेलहिया नाकादेखि बुटवल उपमहानगरको वडा नम्बर १४ देखि १९, सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिकाको वडा नम्बर ७ र ८, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, सियारी गाउँपालिकाका वडा नम्बर १, २, ३, ६ र ७ तथा तिलोत्तमा नगरपालिकाका वडा नम्बर १३ र १४ पर्छन् ।
निर्वाचनमा हार र भुटानी शरणार्थी काण्डका कारण राजनीतिक परिदृश्यबाट हराएका कांग्रेस नेता खाँण फेरि यसे क्षेत्रबाट निर्वाचन लड्ने चर्चा पनि चलिरहेको छ । कांग्रेसले यसअघि २०७९ सालको निर्वाचनमा सो क्षेत्रमा जित्ने आँकलनसमेत गरेको थियो । ‘हेभीवेट उम्मेदवार’ र आफ्नो राम्रो जनाधार भएको क्षेत्र मानिएकाले कांग्रेसले सो क्षेत्रलाई जित्ने सूचीमा त्यसबेला राखेको थियो ।
तर, अप्रत्याशित हार बेहोरेको नेपाली कांग्रेसले अहिले सो क्षेत्रलाई प्रतिष्ठाको विषय बनाउने निश्चित छ । उपनिर्वाचनबाटै तनहुँको १ सिट गुमाएको नेपाली कांग्रेस यस उपनिर्वाचनबाट सोधभर्ना गर्ने दाउमा पनि छ । यसका लागि कांग्रेस सत्ता सहयात्री दल एमालेको सहयोग लिने दाउमा पनि छ । किनकी यस क्षेत्रमा निर्वाचन नै जित्ने एमालेको हैसियत छैन ।
स्रोतका अनुसार कांग्रेस संस्थापन पक्ष एमालेसँग समेत समन्वय गरेर खाँणलाई नै अघि सार्ने दाउमा छ । तर, भुटानी शरणार्थी प्रकरणको मुद्दाको टुंगो लागिनसकेकाले खाँणको विकल्पमा अन्यको पनि चर्चा छ ।
खाँण उम्मेदवार बन्न नसकेको अवस्थामा कांग्रेसले भरत शाह र प्रमोद यादवमध्ये एक जनालाई अघि सार्न सक्छ । यी दुवै जना २०७९ सालको निर्वाचनमा पराजित भएका थिए ।
यादव रूपन्देही क्षेत्र नं. ४ मा लोसपाका सर्वेन्द्रनाथ शुक्लासँग र शाह क्षेत्र नं. ५ मा एमालेका वासुदेव घिमिरेसँग पराजित भएका थिए । यस क्षेत्रमा एमालेबाट खिमलाल भट्टराई बलिया उम्मेदवार हुन् । एमाले पोलिटब्युरो सदस्य दधिराम न्यौपाने र भरत पोखरेल पनि उम्मेदवारको चर्चामा छन् ।
तर, एमालेले उम्मेदवार उठाएको खण्डमा भट्टराईलाई नै अघि सार्ने सम्भावना बढी छ । भट्टराई तिनै व्यक्ति हुन्, जसले २०७९ सालमै रूपन्देही–५ बाट उम्मेदवार बन्नका लागि नै राष्ट्रिय सभाको १८ महिना अवधि बाँकी हुँदै राजीनामा दिएका थिए । तर, उनको दुर्भाग्य नै भन्नुपर्छ, सो क्षेत्रमा एमालेका वासुदेव घिमिरेले पहिला नै उम्मेदवारी दर्ता गर्दा भट्टराई उम्मेदवारी दर्ता नै गर्न नपाई चुनावी दौडबाट बाहिरिन बाध्य भएका थिए ।
भट्टराई अहिले सो क्षेत्रमा निर्वाचन लड्न आफ्नो माहोल बनाइरहेका छन् । उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग पनि आफ्नो चाहना व्यक्त गरिसकेका छन् । ओलीले भट्टराईलाई ‘ग्रिन सिग्नल’ दिइसकेको एमाले पंक्तिभित्र चर्चा पनि चल्न थालेको छ । केही दिनअघि उनले पार्टी अध्यक्ष ओलीलाई भेटेको तस्बिरसमेत सार्वजनिक गरेका थिए । सो भेट’bout उनले भनेका थिए, ‘प्रधानमन्त्री र मेरो भेटमा उहाँले चुनाव जित्नुपर्छ, जित्ने तयारीका साथ पार्टी लागेको छ भन्नुभयो, उहाँले पार्टीले जित्ने योजना बनाएको छ भन्नुभयो ।’
भट्टराईको विश्लेषणअनुसार अहिले रूपन्देही–३ मा एमालेले निर्वाचन जित्ने स्थिति छ । उनले भनेका छन्, ‘चुनाव जित्ने स्थिति छ, विगतमा अन्तरविरोध थियो, अहिले छैन, पार्टीको आन्तरिक समस्या पनि छैन, २०७९ सालको स्थानीय तह निर्वाचन अन्तरविरोधले राम्रो भएन, त्यो समीक्षा गरेर हामी तयारी अवस्थामा छौं ।’
यस क्षेत्रमा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पनि निर्वाचन लड्न सक्ने विश्लेषण भइरहेको छ । किनकि, २०७४ सालको निर्वाचनमा उनी यही क्षेत्रबाट विजयी बनेका थिए ।
भुसाल नेकपा एसको महासचिव हुनुअघि २०७९ सालमा रूपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र रूपमा निर्वाचन लडेका थिए । त्यसबेला उनलाई नेकपा एस र माओवादीको समर्थन थियो । त्यसबेला उनले हार व्यहोरे । एमाले सचिव छविलाल विश्वकर्मा यस क्षेत्रबाट विजयी बने ।
भुसाल उठेको खण्डमा उनलाई माओवादीले क्षेत्र छोड्न सक्ने चर्चा पनि छ । यद्यपि, माओवादी केन्द्रबाट स्थायी समिति सदस्य तथा पूर्वराज्यमन्त्री हकिकुल्ला खाँ र जिल्ला इन्चार्ज सोनिया यादवको नाम पनि चर्चामा छ ।
राप्रपाले पनि सो निर्वाचन क्षेत्र आफ्नो हातबाट उम्कन नदिनेगरी रणनीति बनाइरहेको स्रोतको भनाइ छ । जसअनुसार, राप्रपाले दिवंगत सांसद दीपक बोहोराकै छोराहरू प्रज्वल वा गौरव बोहोरामध्ये एक जनालाई अघि सार्ने तयारी गरेको छ । दीपकका छोरा प्रज्वल अहिले चुनावी रणनीतिसहित क्षेत्रमै खटिरहेका छन् । जेठा छोरा गौरव भने पाइलट छन् । राजधानी दैनिकमा लेखेको छ ।