ढुवानी क्षेत्रका मजदुरलाई कानूनले चिनेन : मजदुर नेता राई

 

चितवन ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले ढुवानी तथा लोडअनलोड क्षेत्रमा काम गर्ने देशभरीका दश हजार श्रमिकहरु कानूनको परिभाषा बाहिर परेको बताउनु भएको छ ।
शनिबार नारायणगढमा आयोजित तरकारी तथा फफूल ढुवानी इकाई कमिटी चितवनको चौथो अधिवेशनका क्रममा उहाले कृषि उपजमा काम गर्ने मजदुरलाई कानूनले परिभाषा नगरेको बताउनुभयो । देशभरीका बसपार्क, कृषि उपज बजार तथा तरकारी फलफूल मण्डिहरुमा काम गर्ने लोडअनलोड तथा ढुवानी मजदुरहरुका बारेमा सवारी तथा यातायात व्यवस्था ऐन, श्रम ऐन र सामाजिक सुरक्षा ऐनले स्पष्ट व्यवस्था नगरेको बताउनुभयो । ऐनले नसमेटेको कारण देशभरीका दश हजार बढी श्रमिकहरु जोखिमपूर्ण काममा रहेका भएपनि सुरक्षाको प्रत्याभूत नभएको राईले बताउनुभयो।
राईले भन्नुभयो “वर्षौदेखि काम गरिरहेको भएतापनि, काम लगाउने स्थायी व्यवस्थापक अदृश्य रहेको र कानूनी परिभाषा स्पष्ट नभएका कारण ढुवानी क्षेत्रका श्रमिकहरु समस्यामा परेको छ ।”
कार्यक्रममा जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपालले मजदुरहरुको जीवनमा आइपर्ने संकटको समाधानका लागि जिफन्टको विशेष पहल गरेको बताउनुभयो । सरकारले सामाजिक सुरक्षा कोष सुरुवात गरेको भएपनि धेरै यातायात श्रेत्रका मजदुरहरु कोषमा समेटिन नसकेको बताउनुभयो ।


भरतपुर महानगरपालिका अन्तर्गत तरकारी तथा फलफूल बजारमा काम गर्ने ८० जना मजदुरहरुले नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तरकारी फलफूल ढुवानी इकाई कमिटी निर्माण गरिएको थियो । कार्यक्रममा संगठनका महासचिव केशवबहादुर थापा, (निरु) उपमहासचिव विष्णुबहादुर पराजुली, जिफन्ट बागमती प्रदेश उपाध्यक्ष अर्जुन अर्याल, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी उपाध्यक्ष मञ्जु गुरुङ, संगठन बागमती प्रदेश अध्यक्ष शंकर थापा लगायतले शुभकामना दिनुभएको थियो ।
अधिवेशनले आगामी दुइवर्षका लागि निर्विरोध नयाँ नेतृत्व चयन गरेको छ । ११ सदस्यीय नयाँ कमिटीको अध्यक्ष राजन ढकाल, उपाध्यक्ष अमरसिं वाइबा, सचिव मदन थिङ, सहसचिव कृष्णबहादुर मोक्तान, कोषाध्यक्ष सन्तोष गुरुङ, सदस्यहरूमा मनोज मोक्तान, सुदीप मोक्तान, सन्तोष भूजेल, शिव ढकाल, चन्द्रबहादुर थोकर, र धनबहादुर योञ्जन रहेको छ ।

 

शेयर गरौ

ताजा अपडेट