चितवन । माध्यमिक शिक्षा परीक्षा एसइइमा चितवनबाट ३७ जनाले ४ जीपीए अङ्क प्राप्त गरेका छन् ।
गत वर्ष १६ जनाले ४ जीपीए ल्याएको जिल्लामा अहिले वृद्धि भएर ३७ जना पुगेको शिक्षा विकास तथा समन्वय इकाई चितवनका परीक्षा शाखाका प्रमुख रमेश अधिकारीले जानकारी दिनुभयो । कार्यालयका अनुसार यस वर्ष चितवनमा ७३.५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्ष ५५ प्रतिशत विद्यार्थी उतीर्ण भएका थिए ।
यस वर्ष प्राविधिक तर्फ ८४ जना सहित ७ हजार ८८७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । जसमध्ये ३७ जनाले ४ जीपीए अङ्क प्राप्त गरेका छन् । यी सवै साधारण तर्फका विद्यार्थी हुन् । सबैभन्दा धेरै नारायणी नमूना माविका ७ जनाले उक्त ४ जीपीए ल्याएको परीक्षा शाखाका प्रमुख अधिकारीले जानकारी दिनुभयो ।
नतिजा अनुसार ३.६ देखि ४ जीपीए मुनी २ हजार ५५, ३.२ देखि ३.६ जीपीएसम्म २ हजार ३३८ जना, २.८ देखि ३.२ जीपीएसम्ममा २ हजार १९८ जना, २.४ देखि २.८ सम्म १ हजात १७३ जना, २ देखि २.४ सम्म ८५ जना, १.६ देखि २ जीपीएसम्म मात्र १ जना उत्तीर्ण भएको अधिकारीले बताउनुभयो ।
यस्तै २ हजार ८४३ जना विद्यार्थी ग्रेडमा समावेश हुन असफल भएका छन् । चितवनमा २३५ विद्यालय परीक्षामा सहभागी भएको थियो । परीक्षाफलको सम्पूर्ण विवरण कार्यालयले आज साँझ विश्लेशण सहित प्रकाशित गर्ने तयारी गरेको छ ।


