शालिग्राम नेपाल ।
चितवन ।
पूर्वपश्चिम राजमार्ग र पृथ्वी राजमार्ग जोड्ने चितवनको शक्तिखोर फिसलिङमा पुल नवन्दा वर्षातमा हेलिएर यात्रा गर्न वाध्य भएको छ ।
चेपाङ जातीको वाहुल्यता रहेको जिल्लाको पहाडी भागलाई जोड्न निर्माण गरिएको सडकको रिग्दी खोलामा पुल नबन्दा जोखिम मोलेर यात्रा गर्न वाध्य भएको हो । सडक कालोपत्रे भएको चार वर्ष वितिसकेपनि पुल नवन्दा वर्षातमा सवारी साधन र सञ्चालन गर्न सकिदैन । इच्छाकामना गाउपालिकाको वडा नं. २, काउले, हात्तीवाङ लगायतका गाउँका वासिन्दा वर्षातमा रोकिने गरेको वडा नंं २ का अध्यक्ष पन्चराम चेपाङले बताउनुभयो ।
“यही खोला भएर वारपार गर्नु पर्दछ” उहाले भन्नुभयो “वर्षातमा खोला वढेपछि कसरी यात्रा गर्नु ।” पालिका कार्यालय जानलाई समेत समस्या पर्दछ । विद्यालय जान आउन विद्यार्थी, शिक्षकलाई समेत पुल नहुदा समस्या परेको अध्यक्ष चेपाङले बताउनुभयो । पुल निर्माणका लागि धेरै पहल गरेपनि बजेट अभावमा काम नभएको जानकारी पाएका उहाले बताउनु भयो ।
चार वर्षमा सम्पन्न गर्ने गरी २०७८ माघ १६ गते निर्माण गर्ने गरी सम्झौता भएको पुलको दुइ वटा पिल्लर मात्र निर्माण भएको छ । सम्झौता अनुसार २०८२ जेठ ३० गते सम्पन्न गरेर हस्तान्तरण गर्नु पर्ने उल्लेख गरिएको थियो । तर सङ्घीय ससर्त मार्फत आउने बजेटबाट निर्माण थालिएको पुलको काम रकम अभावकै कारण हुन सकेको छैन ।
पूर्वाधार विकास कार्यालय भरतपुरका प्रमुख इन्जिनियर वीरेन्द्रकुमार चौधरीले सङ्घीय सरकारले बजेट समयमा नदिएको कारण काम हुन नसकेको जानकारी दिनुभयो । ३५ मिटर लम्बाइ भएको पुल दोहोरो सवारी साधन सञ्चालन गर्न मिल्ने ८.४० सेमी चौडाइ रहेको छ । तीन करोड ८८ लाख ११ हजार ६९५ रुपिँयाको लागतमा निर्माण गर्ने गरी रायमाझी लुम्विनी जेभीले ठेक्का पारेको थियो ।
प्रत्येक वर्ष थोरै रकम निकासा गर्ने भएको कारण काम त्यही अनुसार हुदै आएको छ । गत वर्ष एका तर्फको पिल्लर निर्माण भएको थियो । अहिले अर्को भागको पिल्लर निर्माण सम्पन्न भएको छ । बजेट निकासा गर्ने सुनिश्चितता भएपछि मात्र ठेकेदारले काम गर्ने तयारी गरेको कार्यालय प्रमुख चौधरीले भन्नुभयो । काम गरेर पैसा नपाउने अवस्था भएको कारण निर्माण कम्पनीले काम गर्न सकेको छैन । समयमा काम सम्पन्न नभएपछि म्याद थपको पकृया अगाडि वढेको कार्यालयले जानकारी दिएको छ ।
अहिलेसम्म निर्माण कम्पनीले काम गरे वापत एक करोड ४४ लाख ९९ हजार ४२५ रुपियाँ भुक्तानी भइसकेको छ । सङ्घीय ससर्त मार्फत आउने बजेटबाट भुक्तानीमा समस्या भएको कारण जिल्लामा निर्माण सम्पन्न भएका संरचनाको अझै रकम पाएको छैन ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको रत्ननगर टाडीबाट शक्तिखोर, उपरदाङगढी हुदै रिग्दी खोला तरेर पृथ्वी राजमार्ग अन्तर्गत फिसलिङ निस्कने ग्रामिण कृषि सडक निर्माण गरिएको छ । यो सडकको शक्तिखोर खोला र रिग्दी खोलामा पुल निर्माण गर्नु पर्ने रहेको थियो । शक्तिखोलामा पुल निर्माण सम्पन्न भएर पाँच महिनादेखि सञ्चालनमा आएको छ । रिग्दी खोलाको पुल निर्माण पूरा भएपछि साना तथा मझ्यौला सवारी साधन मुग्लिन नारायणगढ सडकखण्डको विकल्पको रुपमा यो सडक रहेको छ । ४५ किलोमिटरको यो सडकमा कालोपत्रे भइसकेको छ । पुल निर्माण हुने स्थान र पहिरो जाने सम्भावित केही स्थानमा मात्र कालोपत्रे गर्न बाँकी रहेको छ ।
सौराहाको बाघमारा दोभानमा निर्माण भएको पुलको रकम अझै निर्माण कम्पनीले भुक्तानी नपाएकोकार्यालय प्रमुख चौधरीले बताउनुभयो । ५० मिटर लम्वाइको पुल ७ करोड ८७ लाख ४७ हजार ५४० रुपियाँमा ठेक्का भएको थियो । निर्माण कम्पनीले २०८१ पुस ५ गते निर्माण पूरा भएर हस्तान्तरण गरिसकेपनि अहिलेसम्म भुक्तानी नभएको कार्यालय प्रमुख चौधरीले जानकारी दिनुभयो । निर्माण कम्पनीले एक करोड ७ लाख रुपियाँ लिन बाँकी रहेको छ । भुक्तानी नपाउदा ठेकेदार कम्पनीका प्रतिनिधि धेरै पीडामा रहेको आफूलाई बताएको जानकारी दिनुभयो ।


