प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

चितवन ।
भरतपुर १४ स्थित शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रले इन्टरनेटमार्फत एक अस्पतालदेखि अर्को अस्पतालका चिकित्सकसँग समन्वय गरी उपचार गर्ने विधि (टेलिमेडिसिन) सेवा सुरु गरेको छ ।
कलेज अफ मेडिकल (सिएमएस) को प्राविधिक सहयोगमा टेलिमेडिसिन सेवा सुरु गरेको हो । शुक्रबार भरतपुर महानगर प्रमुख रेनु दाहालले सेवाको उद्घाटन गर्नुभयो । नियमित चेक जाँच वा जिज्ञासाकोलागि डाक्टरहरुको पहुँच उपलब्ध गराउन सेवा प्रभावकारी हुने अपेक्षा लिइएको छ ।
सिएमएसले सामाजिक उत्तरदायित्व बहन अन्तरगत केन्द्रमा टेलिमेडिसिन सेवालाई अघि बढाएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख रेनु दाहालले यो सेवाले विपन्न नागरिक र समयको चाप हुने विरामीलाई फलदायी हुने बताउनुभयो । यस अघि हप्ताको ६ दिने विशेषज्ञ सेवा नियमित सञ्चालन गरिने बताउनुभयो ।
जनताको स्वास्थ्य भन्दा ठुलो कुरा केही नहुने भन्दै उहाँले महानगरपालिकाले नगरवासीको स्वास्थ्यका लागि धेरै कार्यक्रकमहरु गर्दै आएको बताउनुभयो । भरतपुर १४ मा शिक्षक र आयुर्वेद अस्पताल गरी दुई ठुला सङ्घीय अस्पताल बन्न लागेको उल्लेख गर्नुभयो । यहाँ ३०० बेड क्षमताको सङ्घीय शिक्षक अस्पताल र १०० शैयाको आयुर्वेद अस्पताल निर्माणको चरणमा रहेको छ ।
शिवनगर स्वास्थ्य केन्द्रलाई नगर स्तरीय अस्पतालको रूपमा घोषणा गरेर सोही अनुसार काम अघि बढ्ने जानकारी दिनुभयो ।
महानगर उपप्रमुख चित्रसेन अधिकारीले भर्चुअलबाट विशेषज्ञ सेवा गाउँमै पाएसँगै यस क्षेत्रका जनताको स्वास्थ्यका पहुँच बढ्दै जाने बताउनुभयो । महानगरको गाउँगाउँमा पुगेर सेवा दिने योजनाअनुसार विशेषज्ञ सेवा सुरु भएको उहाँको भनाई थियो । सिएमएसका व्यवस्थापक डा सुदिप केसीले स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवा सुरु भएसँगै बिरामीलाई सहज हुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, सिएमएसका निर्देशक नटराज प्रसाद, भरतपुर महानगर सामाजिक शाखा प्रमुख शान्त कुमारी पौडेल, सिएमएसका डा. सुदिप केसी लगायतले मन्तव्य राख्नुभएको थियो । केन्द्रबाट हरेक हप्ताको सोमबार, बुधबार र बिहिबार विशेषज्ञ सेवा प्रदान गरिने छ । पुरानो मेडिकल कलेज र भरतपुर आँखा अस्पतालको समन्वयमा केन्द्रबाट हप्ताको ३ तीन दिन विशेषज्ञ सेवा दिन लागिएको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार जनरल फिजिसियन, प्रसुति तथा स्त्री रोग तथा रेडीयोलोजी सेवा र बाल रोग तथा नेत्र रोगको सेवा दिइने छ । २०२७ सालमा स्वास्थ्य केन्द्रमा स्थापना भएको थियो ।

शेयर गरौ

ताजा अपडेट