चितवन । अत्याधिक गर्मी बढेपछि चितवनका तीन वटा स्थानीय तहहरुले विद्यालयको पठनपाठन वन्द गराएको छ ।
गर्मीले विद्यालयमा अध्ययन गर्न कठिन हुने भन्दै भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिकाले सार्वजनिक बिदा दिएको हो । भरतपुर महानगरपालिकाले बुधबारदेखि लागू हुने गरी ३० गते शुक्रबारसम्म तीन दिन विद्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भरतपुर महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यले गर्मी धेरै भएकाले विदा दिएको जानकारी दिनुभयो ।
महानगरले यस अविधमा आफ्ना बालबालिकाहरुलाई दिउँसो घाममा हिँडडुल गर्न नदिन, नदी–पोखरीहरुमा पौडी खेल्ने, माछा मार्ने जस्ता कार्यमा संलग्न हुन नदिन आवश्यक सावधानी अपनाउन सबै अभिभावकहरुमा अनुरोध समेत गरेको छ ।
केही दिनदेखि अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित हुँदै गइरहेको छ । बालबालिकाहरुलाई समेत पठनपाठनमा समस्या भइरहेको गुनासो आएपछि यो निर्णय गरिएको आचार्यले बताउनुभयो । महानगरको वार्षिक शैक्षिक क्यालेन्डरमा उल्लेख भए अनुसार प्रतिकुल मौसमको अवस्था हेरी ४ दिन विदा दिन सकिने व्यवस्था अनुसार सोही विदामा समायोजन गर्ने गरी विदा दिईएको आचार्यले बताउनुभयो ।
यस्तै गरी रत्ननगर नगरपालिकाले गर्मी वढेको भन्दै वुधबार एक दिनको लागि विद्यालयमा पठनपाठन वन्द गर्न सूचना प्रकाशित गरेको छ । मंगलबार सूचना प्रकाशित गर्दै गर्मी विदा दिएको हो ।
त्यस्तै गरी अत्याधिक गर्मी बढेको भन्दै खैरहनी नगरपालिकाले विद्यालयहरुमा एक दिन सार्वजनिक बिदा दिएको छ । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटाले बुधबार एक दिनका लागि नगर भित्रका सामुदायिक तथा सबै संस्थागत विद्यालयहरुमा बिदा दिने निर्णय भएको जानकारी दिनुभयो । यस वर्षको वर्षे सट्टा बिदा दिने गरी यो निर्णय गरिएको उहाँले बताउनुभयो । चितवनमा मंगलबार अधिकतम तापक्रम ३७ डिग्री सेल्सियस रहेको छ ।