चितवन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी नेतृत्वप्रति घेराबन्दी भइरहेकाले एकताबद्ध भएर त्यसको प्रतिवाद गर्न निर्देशन गर्नु भयो ।
एमाले चितवनको ११ औं जिल्ला अधिवेशनको प्रथम प्रतिनिधि परिषद् बैठकलाई शनिबार भरतपुरमा सम्वोधन गर्दै उहाले पार्टी लोकप्रिय भएका कारणले सबैको तारो नेकपा एमालेलाई बनाइएको बताउनु भयो । ‘वामपन्थी जनमत एमालेमा भएको कारण पार्टी माथि आक्रमण भइरहेको छ । जातीय राज्य बनाउन खोज्ने र एक मधेश एक प्रदेश बनाउन खोज्नेहरुले एमाले माथि आक्रमण गरिहेको छ ’ महासचिव पोखरेलले भन्नुभयो ।
नेता कार्यकर्ताले पार्टी जहाँ कमजोर छ त्यहीँबाट संगठन सुरु गर्नुपर्ने बताउनुभयो । जो नेताले कमजोरी गरे तिनै नेताबाट सुधार्नु र सुध्रनु जरुरी रहेको महासचिव पोखरेलले बताउनुभयो । सामाजिक सञ्जालमा आएका फेक कुराहरु हेरेर धारणा बनाउने प्रवृत्तिले समाज बिग्रिरहेको भन्दै सत्य कुरा के हो त्यसलाई वुझेर मात्र धारणा बनाउन उहाले निर्देशन दिनुभयो ।
जिल्लामा एमालेले व्यहोरेको हारको समिक्षा गर्दै मिसन ८४ केन्द्रित सांगठिनक गतिविधिमा लाग्न निर्देशन दिनुभयो । पार्टी नेतृत्वलाई सही सुझाव र सल्लाह दिन उहाले प्रतिनिधि परिषद्का सदस्यलाई आग्रह गर्नुभयो ।
महासचिव पोखरेलले बजेट लोकप्रिय भन्दा पनि नेपालको अर्थतन्त्र सुधार गर्नमा केन्द्रित रहेको बताउनुभयो । उहाले देशमा विकासको मुल फुटाउने पार्टी एमाले भएको बताउदै पार्टीले लिएको नीति र कार्यक्रमका बारेमा सवैले अध्ययन गरेर मात्र काम गर्न निर्देशन दिनुभयो ।
कार्यक्रममा एमालेका संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले सरकारले गरेका राम्रा विषय नदेख्ने तर सामाजिक सञ्जालमा आएका नराम्रा विषयको पछाडि लाग्ने परिपाटी अन्त्य गर्नु पर्ने बताउनुभयो । जनताको जीवनको बारेमा सरकारले काम गरेको छ । गणतन्त्र आउनु पूर्वको नेपालको सामाजिक आर्थिक अवस्था र अहिलेको अवस्थाको विषयमा अध्ययन गरिएको छ । विगतमा भन्दा अहिले धेरै परिवर्तन भएको छ । तर यो विषयमा ध्यान नदिएर केही भएन भन्दै हल्लाको पछाडि लागेर समाज राम्रो नहुने उहाले बताउनुभयो ।
कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य देवी ज्ञवालीले सरकारले ल्याएको बजेटले देशको अर्थतन्त्र सुधार गरेर लैजाने बताउनुभयो । विगतका सरकारले भन्दा अहिलेको सरकारले ल्याएको बजेटमा सवैको प्रतिक्रिया सकरात्मक हुनुको कारण राम्रो भएर भएको बताउनुभयो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य कृष्णभक्त पोखरेलले सरकारले सुशासन, आर्थिक समृद्धिको तर्फ लोकप्रिय काम गरेको बताउनुभयो । उहाँले विकास र समृद्ध आजको भोली नहुने भन्दै यो क्रमिकरुपमा हुदै जाने विषयमा भएको बताउनुभयो ।
बैठकमा एमाले चितवनका अध्यक्ष कमलराज पाठकले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उहाले विगतमा भन्दा अहिले पार्टी प्रति आम जनताको धारणा सुधार हुदै एमाले पार्टी प्रति आकर्षण वृद्धि भएको उल्लेख गर्नु भएको थियो । एमाले चितवनका लेखा कमिटी अध्यक्ष शंकर अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा एमालेका केन्द्रदेखि स्थानीय नेताहरुको उपस्थिति रहेका थियो ।