चितवन २४ जेठ । युथ क्लब नारायणगढले चितवनको इच्छाकामना गाउँपालिकाको एक विद्यालयमा शैक्षिक तथा स्टेशनरी सामग्री वितरण गरेको छ ।
कुशुना नेपाल मैत्री संघ जापानको सहयोगमा युथ क्लब नारयाणगढले इच्छाकामना गाउँपालिका वडा नं. २ भोटेगाउँको राष्ट्रिय आधारभुत विद्यालयका बालबालिकालाई सामग्री वितरण गरेको हो । शनिबार आयोजित कार्यक्रममा कापी, कलम, चित्र बनाउने सामग्री, खेलकुदका सामग्री तथा खाद्य लगायतका विभिन्न सामग्री वितरण गरेको क्लबका अध्यक्ष शालिग्राम नेपालले जानकारी दिनुभयो । सो विद्यालयमा विपन्न चेपाङ मात्र बालबालिका अध्ययन गर्दै आएका छन् ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश चेपाङ, शिक्षक आनन्द ओझा, क्लबका पूर्व अध्यक्ष विष्णु सापकोटा, कोषाध्यक्ष अनिता नेपालीले मन्तव्य राख्नु भएको थियो । शैक्षिक सामग्री, क्लबका सदस्य केशव पौडेल, सौरभ प्रधान, विद्यालयका प्रधानाध्यापक अम्विका खनाललगायतले वितरण गर्नु भएको थियो ।
क्लबका अध्यक्ष शालिग्राम नेपालको सभापतित्वमा भएको कार्यक्रम महासचिव रामचन्द्र आचार्यले सञ्चालन गर्नु भएको थियो । विभिन्न सामग्री विद्यालयलाई क्लबले हस्तान्तरण गरेको थियो । क्लबले हरेक वर्ष शैक्षिक तथा स्टेशनरी सामग्री वितरण गर्दै आएको छ ।