चितवन ।
चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत चुरे पर्वतको मुलखोला क्षेत्रमा लोपउन्मुख चराहरुको वासस्थान फेला परेको छ ।
चरा सम्वन्धी अध्ययन अनुसन्धान गर्दै आएको सस्था र चरा विज्ञहरुको टोलीले गरेको अध्ययनमा लोपउन्मुख चरा फेला परेको जानकारी दिएको हो । वर्ड एजुकेसन सोसाइटी, नेचर गाइड एसोसियसनका प्रतिनिधि तथा चरा विज्ञले शनिबार दिनभर त्यस क्षेत्रको अध्ययन गरेको थियो ।
वर्ड एजुकेसन सोसाइटी चितवनका पूर्व अध्यक्ष वासु विडारीले विश्वमा नै लोप हुन लागेको ग्रेक्याप्रेनिया चरा यस क्षेत्रमा देखिएकोे जानकारी दिनुभयो । ग्रेक्याप्रेनियासहित ४० प्रजातीका चरा विश्वमा लोपउन्मुख चरा रहेका छन् । चरा विज्ञ डाक्टर हेमसागर वरालले चितवन निकुञ्ज र यस आसपास क्षेत्र लोउन्मुख चराहरुको वास स्थान रहेको बताउनुभयो । ग्रेक्याप्रेनिया फाट्ट फुट्ट देखिने चरा हो । निकुञ्जको मुलखोला र यस वरीपरी यो चरा भेटिन्छ उहाले भन्नुभयो । चरा अध्ययन गर्नेहरु, पर्यटकका लागि यस्तो स्थान अति महत्वपूर्ण भएको उहाले बताउनुभयो ।
नेपालबाट लोपउन्मुख हुन लागेका सुल्तान पिक, रेडट्रोगन, रडि किङफिसरलगायतका चराहरुको मुख्य वासस्थान रहेको पाइएको चरा विज्ञ विडारीले जानकारी दिनुभयो । गर्मी छल्नको लागि भारत, श्रीलङका, कम्वोडिया, अफ्रिकालगायतका देशबाट नेपाल आउने गरेको उहाले बताउनुभयो । यसरी आएका चराले यही बच्चा कोरल्ने र हुर्काएपछि उतै उडेर जाने गरेको विडारीले जानकारी दिनुभयो ।
सौराहाबाट २३ किलोमिटर दक्षिण चुरे पर्वत क्षेत्रमा ९७ प्रजातीका चरा पाइएको छ । गर्मी छल्न र प्रजननका लागि यहाँ आएका आगन्तुक चराले अहिले बच्चा कोरल्न थालेका छन् । गत फागुनदेखि यहाँ आउन सुरु गरेका अधिकांश चराले वैशाख र जेठमा बच्चा कोरल्ने गर्दछन् । ‘वर्ड एजुकेसन सोसाइटीका पूर्व जिल्ला अध्यक्ष विँडारी वास्तविक तथ्याङक नभए पनि ६० देखि ८० प्रजातिका आगन्तुक चरा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा यो मौसममा आएको बताउनु भयो ।
विश्वमा ११ हजारभन्दा बढी प्रजातिका चरा पाइने तथ्याङक छ । त्यसमध्ये ४० प्रतिशत हाराहारीले बसाइँसराइ गर्ने विँडारीले बताउनुभयो । निकुञ्ज क्षेत्रमा वर्षमा दुई पटक आगन्तुक चरा आउने गर्दछन् । जाडो र गर्मीमा ती चरा आउने गर्दछन् । जाडो छल्न आउने चराले यहाँ बच्चा कोरल्दैनन् ।
नेपालमा विश्वका अनेकौँ ठाउँबाट चरा बसाइँसराइका लागि आउने गर्छन् । जाडो मौसममा रसियाको साइबेरिया र मङ्गोलियाबाट नेपाल हुँदै भारतसम्म ती चरा पुग्ने उहाँले जानकारी दिनुभयो ।
वर्ड एजुकेसन सोसाइटी चितवनका अध्यक्ष विजय गिरी यो मौसममा सुन्दर प्रजातिका चरा आउने भएकाले यहाँ घुम्न आउने पर्यटकले चरा अवलोकन गर्न पाउने बताउनु भयो । रुख र झाडीमा बनाइएका गुँडमा भर्खर कोरलेका चराका बच्चाहरु देख्न सकिने छ । फागुनदेखि यहाँ आएका आगन्तुक चराले बच्चा कोरले असोजसम्ममा फर्किसक्ने उहाँले जानकारी दिनुभयो । नेपालमा ९०० प्रजातिका चरा पाइन्छन् । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ६५२ प्रजातिका चरा पाइने गरेका छन् ।