चितवन ।
चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकाय परिसर, रामपुर, चितवनमा बायोसेफ्टी लेभल टु प्लस प्रयोगशाला निर्माण गरिएको गरिएको छ ।
प्रयोगशालाको बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री प्रकाश श्रेष्ठले उद्घाटन गर्नुभयो । प्रदेश सरकारको १५ करोडको आर्थिक सहयोगमा बनेको मन्त्री श्रेष्ठले विश्वविद्यालयका उपकुलपति प्रा।डा। शारदा थपलियालाई हस्तान्तरण गर्नुभयो । प्रयोगशाला भवन समुदघाटन कार्यक्रममा बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्री श्रेष्ठले विश्वविद्यालयमा निर्माण सम्पन्न भएको प्रयोगशाला भवन बागमती प्रदेश सरकारको गौरवको योजना रहेको बताउनुभयो ।
मन्त्री श्रेष्ठले बागमती प्रदेशका छ लाख किसानसहित देश भरिका किसानले यसबाट लाभ लिनसक्ने बताउनुभयो । प्रयोगशालामा गरिने अनुसन्धानबाट प्राप्त नतिजालाई व्यवहारमुखी बनाउने चुनौतीलाई सामना गर्न समेत प्रदेश सरकारले सहकार्य गर्ने उहाले बताउनुभयो । कार्यक्रममा बागमती प्रदेश सरकारका वन मन्त्री कृष्णप्रसाद सिलवालले रोगका असर र रोकथामका विधी तयार गर्न प्रयोगशाला उपयोग हुने बताउनुभयो । प्रविधीको प्रयोगले प्रयोगशाला निर्माणको उद्देश्य प्राप्तिमा सहयोग पुग्ने बताउँदै मन्त्री सिलवाललले विश्वविद्यालयमा पढाउने, अनुसन्धान गर्ने र किसानलाई समाधानका उपायहरु बाँड्न सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रयोगशाला पशुपंक्षी एवं खेतीबालीमा देखिने रोग, किराको सुक्ष्म परीक्षणका लागि उच्चस्तरको विशिष्टिकृत सुरक्षा व्यवस्था सहित निर्माण गरिएको छ । ढुसी, ब्याक्टेरिया, भाईरसको सुक्ष्म अध्ययन, अनुसन्धानका लागि प्रयोगशाला बहुउपयोगी रहने विश्वविद्यालयका उपकुलपति प्रा।डा। शारदा थपलियाले बताउनुभयो । प्रयोगशालाको अधिकतम उपयोग गर्नका लागि विश्वविद्यालयमा सक्षम जनशक्ति रहेको छ । उहाले भन्न्ुभयो, ‘नयाँ प्रयोगशाला भवन पूर्ण रुपमा बायोसेक्युरीटी सहित बनेको छ । अहिले विश्वविद्यालयमा रहेकै मेशिनको प्रयोगबाट अगाडी बढ्नेछौं ।’ प्रयोगशालालाई सञ्चालनका आवश्यक थप नयाँ मेशिनहरु खरिदका लागि ५ करोड रुपैयाँ लाग्ने भएकाले त्यसका लागि प्रदेश सरकारसँग सहकार्य गरिने जानकारी दिनुभयो । प्रयोगशाला सञ्चालनका लागि कार्यविधीको मस्यौदा तयार भैसकेको र त्यसलाई अन्तिम रुप दिने कायै भैरहेको उपकुलपति प्रा।डा। थपलिया बताउनुभयो ।
समुद्घाटन कार्यक्रममा बागमती प्रदेशका पूर्व मन्त्री दावा दोर्जे लामा, विश्वविद्यालयका रजिष्ट्रार प्रा।डा।पुष्कर बहादुर पाल, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायका डीन प्रा।डा। भूमिनन्द देवकोटा लगायतले मन्तव्य राख्नुभयो ।


