चितवन ।
वर्षातमा पहिरो आएर राजमार्ग रोक्न सक्ने जोखिम आउन नदिन डिभिजन सडक कार्यालय भरतपुरले सतर्कता अपनाएको छ ।
पहिरो जाने सम्भावित क्षेत्रमा पहिरो रोक्ने चेक ड्यामसहितको पर्खाल निर्माण गरेको छ भने भासिन सक्ने स्थानमा निर्माण कार्य गरेको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख इञ्जिनिएर नारायण लामिछानेले नारायणगढ–मुग्लिन सडकखण्डमा हुनसक्ने समस्या पहिचान गरेर काम गरेको जानकारी दिनुभयो । गत वर्षको असारमा सिमलतालमा दुई वटा बस पहिरोले बगाएपछि त्यस खालको समस्या नआओस् भन्नका लागि सावधानी अपनाइएका छौ उहाले भन्नुभयो ।
पहिरो जाने स्थानको मात्र नभएर सडक भासिने समस्या पनि यस खण्डमा रहेको छ । सत्र किलोमा त्रिशुली नदी तर्फ सडक भासिएर सवारी साधान एकतर्फी सञ्चालन हुने गर्दछ । त्यस स्थानमा फेरी भासिन नदिनको लागि जोखिम पहिचान गरेर पर्खाल लगाएको उहाले बताउनुभयो । अन्य स्थानमा पनि भासिने जोखिम पहिचान गरेर काम भइराखेको जानकारी दिनुभयो ।
गत वर्ष घटना भएको सिमलतालको माथिल्लो भागमा लेदो बगेर नआओस् भन्नका लागि ‘चेक ड्याम’ निर्माण गरिएको छ । यस्तै मौरी खोला पुलको माथिल्लो भागमा पनि चेक ड्याम र खोल्सो बनाउने (लाइनिङ) को काम भएको छ ।
कालीखोलालगायतका जोखिमयुक्त ठाउँहरुमा पनि आवश्यकता अनुसार पहिरो रोकथामका काम भएको छ । यो वर्ष पहिरोले दुःख नदेला भन्ने अपेक्षा गरेका छौ उहाले भन्नुभयो पहिरो आइहालेमा तत्काल पन्छाउने गरी व्यवस्थापन गरिएको छ प्रमुख लामिछानेले भन्नुभयो ।
कार्यालयले सडकखण्डको सेतीदोभान क्याम्पमा ब्याकुलोडर, ट्रक, स्काभेटर, लोडर, मिनी टिपरसहितका उपकरण राखिएको उहाँले जानकारी दिनुभयो । यसैगरी भरतपुरको कार्यालयमा पनि यस्ता उपकरण तयारी अवस्थामा राखिएको छ । गत वर्षको असार २८ गते दुई वटा रात्रि बस बगाउँदा ६२ जनालाई बगाएको थियो । तीमध्ये कतिपय अझै बेपत्ता छन् । ती दुई बस समेत फेला परेका छैनन् ।


