वीरगञ्ज । हिन्दू र मुस्लिम समुदाय बिच झडप भएपछि वीरगन्जमा कर्फ्यू आदेश जारी भएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार साँझ साढे ६ बजेदेखि आइतबार मध्याह्न १२ बजेसम्मका लागि वीरगन्जको चार किल्ला तोकेर कर्फ्यू आदेश जारी गरेको हो। दुई पक्षबीचको झडपले वीरगञ्जको अवस्था तनावग्रस्त बनेपछि कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए।
प्रशासनले वीरगन्ज महानगरभित्रका ४ क्षेत्रमा कर्फ्यू लगाएको उनले बताए। उनका अनुसार पूर्वमा भेडियानी चोक, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य चोक तोकेर कर्फ्यू लगाइएको हो। सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार दुई धार्मिक सम्प्रदायबीच झडपको स्थिति सिर्जना भएपछि वीरगन्ज तनावग्रस्त बनेको थियो।
शनिबार दिउँसो हनुमान जन्मोत्सवको अवसरमा शोभा यात्रा आयोजना गरिएको थियो। शोभा यात्रामा झन्डै ८ हजार मानिसहरू सहभागी भएको र उनीहरू वीरगन्ज महानगरपालिका(२ श्रीराम हलनजिक जामा मस्जिदअगाडि पुगेपछि झडपको अवस्था सिर्जना भएको थियो।
उनीहरूले यात्रा गरिरहँदा आफूहरूमाथि मस्जिदबाट ढुंगा प्रहार भएको भन्दै आक्रोशित भएका थिए। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको थियो। घटनालाई नियन्त्रणमा लिन खोज्दा ८ जना सशस्त्र प्रहरी कर्मचारी घाइते भएको डिएसपी थापाले जानकारी दिए।