समय अगाबै जनकको पाठ्यपुस्तक जिल्लामा

शालिग्राम नेपाल ।
चितवन । शैक्षिक सत्र सुरु हुदा समेत पाठ्य पुस्तक पाइएन भन्ने गुनासा अब पुराना भएका छन् ।
जनक शिक्षा सामग्री केन्द्रले शैक्षिक सत्र सुरु हुनु भन्दा केही हप्ता अगाडिदेखिनै विद्यालयमा पाठ्य सामग्री पु¥याउने व्यवस्था गरेको छ । गत वर्षपनि जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय भरतपुरले नयाँ शैक्षिक सत्रअगावै पाठ्यपुस्तक बिक्री गरेको थियो । यस वर्षपनि नयाँ शैक्षिक सत्र सुरू हुन अझै दुई हप्ता अगाडिदेखि पुस्तक बिक्री गर्न थालिसकेको छ ।
अब पाठ्यपुस्तक पाइएने भन्ने गुनासा पुराना भएका छन् कार्यालयका प्रमुख धनबहादुर केसीले भन्नुभयो । सूचिकृत पुस्तक विक्री केन्द्रले तोकिएको शुल्क वुझाएर सामग्री लैजान सक्नेछन् । यसरी कार्यालयले विभिन्न जिल्लामा सामग्री पठाउन थालिसकेको छ उहाले भन्नुभयो । पूर्वी तनहुँका आँबुखैरहनी र देवघाट गाउँपालिकाबाट कक्षा ३ देखि १२ कक्षासम्मका पाठ्यपुस्तक बिक्री गर्न थालिएको छ । । बारा जिल्लामा पाठ्यपुस्तक पठाइएको छ ।
‘चैत २३ गते शनिबार नवलपरासीको गैंडाकोट क्षेत्र, २५ र २६ गते चितवन जिल्लाका लागि पाठ्यपुस्तक बिक्री गरिन्छ । जनक शिक्षामा सूचीकृत भएको व्यवसायीले पाठ्यपुस्तक लानेछन्’, प्रमुख केसीले भन्नुभयो, ‘शैक्षिक सत्र सुरू नहुँदै सबै विद्यार्थीको हात–हातमा पुस्तक पुग्नेछ । ’ पुस्तक लैजान विद्यालयलाई अनुरोध गरेका छौ उहाले भन्नुभयो अहिले वार्षिक परीक्षा सकिएको छैन भनी अहिले लैजान आलटाल गर्नु भएको छ । अब पाठ्यसामग्री पाइएन भन्ने गुनासा कतै सुन्न पाइदैन ।
जनक शिक्षा भरतपुरले गत वर्ष १४ लाख ७६ हजार ३५९ थान पुस्तक बिक्री गरेको थियो । यस शैक्षिक सत्रमा ३० लाख ९६ हजार पुस्तक कार्यालयमा प्राप्त भएको छ । प्राप्त भए सबै विक्री नभएपनि अधिकतम बिक्री गर्ने लक्ष्य लिएको कार्यालय प्रमुख केसीले बताउनुभयो । गत वर्ष पुस्तक बिक्रीबाट २० करोड ५८ हजार २२३ रूपैयाँ रकम जम्मा भएको थियो । यो वर्ष अधिकतम बिक्री गर्ने तयारी कार्यालयले गरेको छ । प्राप्त पुस्तक सबै बिक्री भएमा ३१ करोड १५ लाख ५० हजार ९८७ रुपियाँ राजश्व संकलन हुने कार्यालयले जानकारी दिएको छ । शैक्षिक सत्र सुरू नहुँदै पुस्तक बजारमा पठाउन थालेकाले गत वर्ष भन्दा अहिले धेरै बिक्री हुने अपेक्षा गरेको प्रमुख केसीले भन्नुभयो ।
गत वर्ष कक्षा ३, ४ र ५ को पाठ्यपुस्तक निजी क्षेत्रले पनि बिक्री गरेको थियो, यो वर्ष कक्षा ३ देखि नै जनकले पाठ्यपुस्तक बिक्री गरेको छ । अहिलेसम्म तीन करोड २२ लाख ८१ हजार आठसय ३८ रुपियाँको पुस्तक बिक्री भइसकेको कार्यालयका सूचना अधिकारी वरिष्ठ सहायक केदारराज विष्टले जानकारी दिनुभयो ।
यस शैक्षिक सत्रमा अंग्रेजी माध्यमको पाठ्यपुस्तक बढी बिक्री हुने प्रक्षेपण जनकले गरेको छ । ‘अंग्रेजी माध्यममा पठनपाठन गर्ने विद्यालय बढिरहेका छन्, नेपाली माध्यमका पाठ्यपुस्तक कम बिक्री हुने देखिन्छ’, जनक शिक्षा सामग्री केन्द्रका सूचना अधिकारी केदारराज विष्टले भन्नुभयो ।
यसवर्ष कक्षा १, २ र ४ को सामुदायिक विद्यालयको पाठ्यपुस्तक निजी क्षेत्रबाट बिक्री हुनेछ भने अन्य कक्षाको पाठ्यपुस्तक जनक शिक्षा सामग्रीबाट हुनेछ । तर, कक्षा ४ को पाठ्यपुस्तक जनक र निजी क्षेत्र दुबैबाट हुनेछ ।
‘निजी क्षेत्रले मौज्दात रहेको भन्दै कक्षा ४ को पाठ्यपुस्तक यो वर्ष बिक्री गर्न माग ग¥यो, त्योअनुसार जनकसँग सहमति भयो’, जनक शिक्षा सामग्री केन्द्रका प्रमुख धनबहादुर केसीले भन्नुभयो । नेपाल सरकार शिक्षा मन्त्रालयको निर्देशन अनुसार चैत २५ गतेसम्म सबै जिल्लामा पाठ्य पुस्तक बिक्री गर्नुपर्ने छ ।
भरतपुरको प्रादेशिक कार्यालयले बारा, पर्सा, रौतहट, मकवानपुर, चितवनसँगै पूर्वी नवलपरासी र तनहुँको पूर्वी क्षेत्रमा समेत पाठ्यपुस्तक बिक्री वितरण गर्दै आएको छ । चितवनमा २ करोडबराबरको पुस्तक बिक्री हुँदै आएको छ । यो वर्ष चितवनमा केही पाठ्यपुस्तकको बिक्री अवश्य बढ्ने देखिन्छ ।
जनकसँग सूचीकृत भएका व्यवसायीहरु सबैभन्दा बढी चितवनमा छन् । चितवनमा हालसम्म १०० व्यवसायीले पसल सूचीकृत गरेका छन् । सूचीकृत भएका पसलले मात्र पाठ्यपुस्तक बिक्री गर्न पाउँछन् । स्थानीय तहले विद्यालयको खातामा पैसा हाल्छन् र विद्यालयले नै विद्यार्थी संख्याको आधारमा पाठ्यपुस्तक खरिद गर्छन् ।
‘सहजरुपमा पाठ्यपुस्तक बिक्री भइरहेको छ, पुस्तकको मूल्य पनि बढेको छैन’, प्रमुख केसीले भन्नुभयो । ‘कक्षा ३ को पूरा किताबको सेट किन्दा ५८० रूपैयाँ पर्छ भने कक्षा १० को पाँच थान पुस्तक किन्दा ९२४ रूपैयाँ पर्छ ।’ गत वर्षकै मूल्यमा जनकले किताब बिक्री गरिरहेको छ ।

शेयर गरौ

ताजा अपडेट