चितवन। चितवनको भरतपुर–११ भोजाडमा रहेको छेच्यु थर्पलिङ गुम्बामा सोनाम ल्होछारको अवसरमा सांस्कृतिक कार्यक्रम गरिने भएको छ । माघ १७ गते परेको सोनाम ल्होछारको अवसरमा गुम्बामा राष्ट्रिय कलाकारहरुबो सांगीतिक प्रस्तुती रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
चन्द्र पात्रोको पहिलो दिन अर्थात माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले हर्षोल्लास पूर्वक पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षको स्वागत गर्न सांस्कृतिक कार्यक्रम गर्न लागेको भरतपुर नगर तामाङ समाजका अध्यक्ष इन्जिनियर सूर्यप्रकाश लामाले बताउनुभयो । भरतपुरमा बस्ने तामाङ समुदायले यसपर्वलाई हरेक वर्ष विशेष रुपमा मनाउँदै आइरहेको लामाको भनाइ छ । गुम्बाको प्राङ्गणमा तामाङ कलाकारहरु योगेश लामा, मिङ्स लामाको प्रस्तुतीसहित सांस्कृतिक कार्यक्रम, विविध खेलकुद कार्यक्रम, रक्तदान कार्यक्रम एवम् रक्तदान कार्यक्रम गरिने लामाले बताउनुभयो ।
पत्रकार सम्मेलनका क्रममा समाजका पूर्वअध्यक्ष गंगालाल लामाले आफूहरुले सांस्कृतिक कार्यक्रममात्रै नभइ अन्य समयमा सामाजिक कामहरु समेत गर्दै आएको बताउनुभयो । मृत्यु संस्कारमा रहेका विभिन्न विकृति हटाउँदै संस्कारमा रहेका राम्रा कुरालाई जगेर्ना गर्न समाजले महत्वपूर्ण भूमिका खेलेको लामाको भनाइ छ । केही दशक अगाडिसम्म ल्होसार मनाउने परम्परा हराउँदै गएको भए पनि पछिल्लो समय आएर ल्होछार मनाउनेहरु बढ्दै जाँदा आत्मियता र भाइचारा समेत बढेको उहाँको भनाइ छ ।
तामाङ समुदायको नयाँ पुस्तामा भाषा हराउँदै गएको भन्दै यसप्रति आफूहरु सचेत रहेको र भाषा संरक्षणको योजना बनाएको उहाँले बताउनुभयो । सोनाम ल्होछारका क्रममा गुम्बा तथा घरको सरसफाइ, झण्डा फेर्ने, पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागत गर्ने, आशीर्वाद लिने, पूजा गर्ने, रमाइलो गर्ने गर्दै आएको उहाँको भनाइ छ । भरतपुरमा आठ जना रहेको तामाङ समुदायको जनसंख्या चितवनमा करिब ४० हजार रहेको बताइन्छ ।