चितवन महोत्सवमा कृषि गोष्ठी : रासायनिक विषादीको प्रयोग न्यूनिकरण गर्नुपर्नेमा जोड

चितवन। चितवन महोत्सवका अवसरमा आयोजित कृषि गोष्ठीमा रासायनिक विषादीको प्रयोग न्यूनिकरण गर्दै लैजानुपर्नेमा वक्ताहरुले जोड दिएका छन् ।

उवासंघ चितवनको सभाहलमा ‘स्वच्छ उत्पादन, स्वस्थ खाना र युवा उद्यमशीलता विषादी रहित व्यावसायिक कृषि आजको आवश्यकता’ विषयक कृषि गोष्ठीमा वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।

गोष्ठीमा कृषि विज्ञहरु सुजन अमागाईं, चन्द्र प्रसाद अधिकारी र कृष्ण पौडेलले कार्यपत्र प्रस्तुत गरे । कार्यपत्र प्रस्तुत गर्दै विज्ञहरुले विषदीको प्रयोग बढ्नुका साथै अनियन्त्रित प्रयोग भइरहेको बताए । नेपालमा धेरै जसो तरकारीमा अनियन्त्रित विषादीको प्रयोग गरिएको विज्ञहरुको भनाइ छ ।
विषादी छर्दा किसान आफै पनि सुरक्षित नभई छर्ने गरेको बताउँदै कृषि विज्ञहरुले किसानमा अझै पनि जनचेतना फैलाउन आवश्यक रहेको बताए ।

सुधारिएको प्राङ्गारिक कृषि प्रणाली अवलम्बन गरी रासायनिक विषादीको प्रतिस्थापन गर्नु आजको आवश्यकता भएको विज्ञहरुको तर्क छ । विषादीको जथाभावी बिक्रि वितरणलाई पनि नियन्त्रण गर्न जरुरी रहेको उनीहरुको सुझाव छ ।

किसानले वर्षेनी विषदीको प्रयोगको मात्रा बढाउँदै लगेको बताउँदै विज्ञहरुले यसले मानव स्वास्थ्यसँगै वातावरणमा पनि नकरात्मक प्रभाव पारिरहेको बताए ।

युवा पुस्ता कृषिलाई अंगाल्न तयार नै नहुनु, कृषि पढेका विद्यार्थीले पनि विदेश नै प्रमुख रोजाइ बनाउनुले अब नेपालमा कृषि क्षेत्र विकास गर्न निकै चुनौती हुने संकेत देखिएको भन्दै विज्ञहरुले यसतर्फ बेलैमा सचेत हुन सरोकारवालाहरुलाई सुझाव दिएका छन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनकी उपकुलपति प्राडा शारदा थपलियाले अहिले प्रयोग भइराखेको विषादी र औषधीले काम नगर्ने अवस्था आएको बताइन् । त्यसकारण किसानले कडा विषादी खोज्ने गरेको र नपाएको खण्डमा भएको विषदीलाई कडा बनाउने नाममा अत्याधिक प्रयोग गरिरहेको उनको भनाइ छ । एउटा विषदीको प्रयोग गरिरहँदा त्यसलाई सहन गर्न सक्ने प्रणाली किरामा विकास हुने बताउँदै उनले त्यस्तो अवस्थामा विषदीको मात्र बढाउने नभई विषदीको परिवर्तन गर्नुपर्ने बताइन् । नयाँ विषादीको अनुसन्धान र प्रयोग एवम् विषादी न्यूनिकरणका लागि विश्वविद्यालयले काम गरिरहेको उनको भनाइ थियो ।

उनले चितवनमा कृषि विकासको प्रचुर संभावना रहेको बताउँदै विश्वविद्यालयले आफ्नो तर्फबाट गर्नुपर्ने काम गरिरहेको बताइन् ।

शेयर गरौ

ताजा अपडेट