नवलपुर उद्योग संघको प्रारम्भिक साधारणसभा एवं प्रथम अधिवेशन सम्पन्न

 

कावासोती ,२४ फागुन ./

नेपाल उद्योग परिसंघका संस्थापक अध्यक्ष तथा बरिष्ठ उद्योगपति विनोद कुमार चौधरीले नवलपुरलाई विशेष औद्योगिक क्षेत्र (सेज) बनाउनुपर्ने बताउनुभएको छ ।

नवलपुर उद्योग संघको कावासोतीमा भएको प्रारम्भिक साधारणसभा एवं प्रथम अधिवेशन समारोहको समुदघाटन गर्दै उद्योगपति चौधरीले यो जिल्लालाई नेपालकै सेज बनाउनुपर्ने धारणा राख्नुभयो ।

गण्डकी प्रदेशको आर्थिक मुलद्वार, नेपालकै मध्यभाग, समथर भुगोल, राजमार्ग, विद्युत, भारती सीमाना लगायत सवै दृष्टीकोणले उपयुक्त भएकाले नवलपुरलाई सेज घोषणा गर्नुपर्ने उद्योगपति चौधरीको भनाई छ । प्रमुख अतिथि चौधरीले नवलपुर उद्योग संघले छोटो समयमै संघलाई मुर्तरुपमा दिन सकेकोमा प्रशंसा समेत गर्नुभयो । उहाँले उद्योग सञ्चालन गर्नेहरुले नेतृत्व पक्षलाई महत्वपूर्ण ढङ्गले लिनुपर्ने र विभिन्न खाले चुनौतीको समाना गर्नु परेमा पनि पछि हट्न नहुने बताउनुभयो । त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि नेपाल उद्योग परिसंघ प्रदेश नं. ५ का संयोजक एजाद आलमले नेपालमा लगानीमैत्री वातावरण सृजना गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै विशिष्ट अतिथि चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले नवलपुर उद्योग संघ गठनले आफूहरुलाई उत्साहित बनाएको र आफ्नो तर्फबाट औद्योगिक बिस्तार र नवलपुर उद्योग संघका हरेक गतिविधिहरुमा सहयोग रहने बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति, नवलपुरका प्रमुख चेसराम आले, जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, नेपाली काँग्रेसका जिल्ला सदस्य उदय अर्याल, गैंडाकोट उद्योग वाणिज्य संघका अध्यक्ष अमृत भट्टचन, विवेकशिल साझा पार्टीका अध्यक्ष हरिप्रसाद गौतम, राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला संगठनका सचिव सत्रुधन थापालगायतले कार्यक्रमको शुभकामना मन्तव्य राख्नुभएको थियो ।

नयाँ कार्य समिति चयन

प्रथम अधिवेशनले नवलपुर उद्योग संघका संयोजक कृष्णप्रसाद शर्मा (गौतम) को अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा ठाकुर शर्मा र विष्णु कंडेल, महासचिवमा केबी राना, सचिवमा जीवन श्रेष्ठ, कोषाध्यक्षमा तुलमणी पौडेल सर्व सम्मत निर्वाचित हुनुभएको छ ।

समितिको सदस्यहरुमा नारायणप्रसाद आचार्य, महेश कोइराला, वसन्तकुमार श्रेष्ठ, मिना दाहाल, ई.रोचक अधिकारी, प्रकाश सापकोटा, लक्ष्मी कँडेल, रत्नमाया विश्वकर्मा, राजकुमार श्रेष्ठ, तीर्थराज पौडेल, उर्मिला शर्मा, बुद्धिराज कडरिया (दिपेश) र पिताम्बर कोइराला रहनुभएको छ । त्यस्तै समितिको पहिलो बैठकबाट लेखा समिति संयोजकमा रमेश अधिकारी मनोनित सदस्यहरुमा दुर्गाप्रसाद भुषाल, धनकान्ति घिमिरेलाई चयन गरेको छ । दुई वर्षे कार्याकालको लागि निर्वाचित समितिले नवलपुरका उद्योगी व्यवसायीका समस्या, समाधानका उपाय र औद्योगिक सम्भावनाको खोजी गरि नवलपुरको आर्थिक समृद्विका लागि क्रियाशिल रहने नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद शर्मा गौतमले जानकारी दिनुभयो ।

जिल्लाको आठवटै स्थानीय तहमा ईकाई समिति गठन लगानीमैत्री वातावरण सृजना गर्न र औद्योगिक क्षेत्रको विकास र विस्तारमा विशेष भूमिका खेल्ने अध्यक्ष गौतमको भनाई छ ।

निर्वाचन समितिको प्रमुख निर्वाचन अधिकृतमा अधिवक्ता गणेश सापकोटा, निर्वाचन अधिकृतहरुमा गोविन्दप्रसाद पौडेल र राजु भट्ट रहनुभएको थियो ।

शेयर गरौ

ताजा अपडेट