विकासको नयाँ मोडल दिएर देश विकास गर्न सम्भव छ भन्ने भाष्य स्थापित गर्नुपर्छ : प्रचण्ड

चितवन । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै तहका सरकारले विकासको नयाँ मोडल दिएर देश विकास गर्न सम्भव छ भन्ने भाष्य स्थापित गर्नुपर्ने बेला आएको बताएका छन् ।

चितवनको भरतपुर महानगरपालिकाले मेघौलीमा आयोजना गरेको भरतपुर भ्रमण वर्ष २०२४ को वार्षिकोत्सव तथा राष्ट्रिय रैथाने खाना महोत्सव २०८१ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । केही समयदेखि मुलुकमा नकारात्मक भाष्य स्थापित गर्न खोजिएको उल्लेख गर्दै उनले यसलाई खण्डन गर्न भरतपुर महानगरपालिकाले महत्वपूर्ण प्रयास गरिरहेको बताए ।

अध्यक्ष प्रचण्डले नेतृत्वले इमान्दार भएर काम गर्ने हो भने देशलाई गति दिन सकिन्छ भन्ने यो नमूना भएको बताए । अहिले चितवनबाट विदेश जाने क्रम उल्लेख्य रुपमा कम भएको स्पष्ट गर्दै उनले यसबाट आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने सकारात्मक भाष्य स्थापित हुँदै गएको बताए ।

‘आगामी दिनमा देशभरिकै स्थानीय तह, प्रदेश र केन्द्रले पनि विकासमा नयाँ र मौलिक मोडल दिएर देशमा विकास निर्माण र रोजगारी सिर्जना गर्न संभव छ भन्ने भाष्य स्थापित गर्न आवश्यक छ,’ अध्यक्ष प्रचण्डले भने, ‘स्थानीय समुदायको सहयोग र समर्थन लिएर राजनीतिक नेतृत्वले विकास लगायत हरेक क्षेत्रमा नमूना देखाउन आवश्यक छ । अबको प्रतिस्पर्धा यसमै हुनुपर्छ ।’

चितवनमा भौतिक पूर्वाधार र मानवीय विकास नमूनायोग्य रूपमा भइरहेको उल्लेख गर्दै उनले आफू पनि चितवनको नागरिक हुनुको नाताले गौरव महसुस भइरहेको बताए । अध्यक्ष प्रचण्डले अब चितवन विस्तारै देशभित्र मात्र होइन, विश्व समुदायकै लागि पुग्नैपर्ने ठाउँको रुपमा स्थापित हुने बताए । चितवनमा खेल पूर्वाधारका लागि पनि महत्त्वपूर्ण काम भइरहेको उल्लेख गर्दै उनले खेलप्रति देशव्यापी रूपमा देखिएको युवाहरूको क्रेजलाई सम्बोधन गर्न खेल पूर्वाधारमा ध्यान दिनुपर्ने बेला आएको बताए ।

शेयर गरौ

ताजा अपडेट