चितवन । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले व्यापार व्यवसाय गर्नेलाई राजनीतिक रुपमा सङ्गठित गर्ने फोरमको रुपमा मात्रै महासङ्घलाई हेर्न नहुने बताउनुभएको छ ।
गैँडाकोटमा नेपाल उद्योग तथा व्यवसायी महासङ्घको विधान तथा नीति निर्माण सन्दर्भमा आयोजित विस्तारित बैठकको उद्घाटन गर्दै उहाले व्यापार व्यवसायको पक्षमा लाग्नको लागि अनुरोध गर्नु भयो । उहाँले यस महासङ्घलाई समृद्ध नेपाली, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने एउटा मिसनको रुपमा आफूलाई अग्रसर बनाउने काम गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो । अहिले मुलुकमा रहेका धेरै कम्युनिष्ट पार्टीहरुले समाजवादी कार्यक्रम दिने विषयमा पैरवी गरिरहेका भन्दै महासचिव पोखरेलले अहिले नै समाजवादी कार्यक्रम दिने समय सुरु नभएको बताउनुभयो ।
शनिबारसम्म सञ्चालन हुने बैठकमा महासङ्घका पूर्वउपाध्यक्ष एवम् विधान संशोधन बैठकका संयोजक डा तिलचन्द्र भट्टराईले मुलुकको वर्तमान अर्थतन्त्र र अबको दिशाका बारेमा बृहत छलफल गरिने बताउनुभयो । देशको अर्थतन्त्रमा बिस्तारै आशाहरु पलाउन थालेको अवस्थामा उद्योगी व्यवसायीलाई लगानी गर्न प्रेरित गर्नेगरी नीति निर्माण गर्नका सरकारलाई आग्रह गरिने उहाँले बताउनुभयो ।
अहिले व्यवसायमा देखिएका कठिनाइलाई सम्बोधन गर्नेगरी छलफल गरेर सरकारलाई योजना बनाउन सुझाव दिने डा भट्टराईले बताउनुभयो । तराइ क्षेत्र अन्न भण्डार रहेको उल्लेख गर्दै पर्यटकीय क्षेत्रको विकास अहिलेको आवश्इकता भएको बताउनुभयो । आर्थिक पर्यटकीय क्षेत्रको रुपमा राष्ट्रिय योजनाको रुपमा अगाडि बढाउन सरकारसँग आग्रह गर्नुभएको छ ।
नेपाल उद्योग तथा व्यवसायी महासङ्घका संयोजक भागिरथ सापकोटाले शुक्रबार साँझबाट नै विधान तथा नीति निर्माण सन्दर्भमा आयोजित विस्तारित बैठकको बन्दसत्र हुने बताउनुभयो । दोस्रोसत्रमा पूर्वमन्त्री एवम् एमाले नेता भानुभक्त ढकाल संगठनको विषयमा, पूर्वअर्थमन्त्री एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार डा युवराज खतिवडाले मुलुकको अर्थतन्त्रको अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्ने सापकोटाले जानकारी दिनुभयो । बन्दसत्रमा साङ्गठनिक प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन तथा संधोधित विधानको बारेमा छलफल हुने सापकोटाले बताउनुभयो । विस्तारित बैठकमा ३५० प्रतिनिधि सहभागी छन् ।