चितवन । विद्यालयमा सुरक्षित सिकाइ कार्यक्रम भरतपुरको मोहन माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।
सोह्र दिने लैङ्गिक हिंसा विरुद्धको दिवस पारेर विद्यालयमा सिकाइको बारेमा कार्यक्रम आयोजना गरिएको हो । एनसीइ नेपाल चितवन जिल्ला संयोजक रामचन्द्र आचार्यले प्रस्तुत गर्नु भएको कार्यपत्र माथि सहभागीहरुले टिप्पणी गर्नु भएको थियो ।
भरतपुर १२ मा रहेको मोहन माविमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पशुपति घिमिरे, गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा चितवन अध्यक्ष पार्वती घिमिरे दवाडी, एनसीइ नेपाल चितवनका सचिव कमलराज खनालज्यू, जिल्ला समिति चितवन कोषाध्यक्ष अनिता नेपाली, पत्रकार किशोर खनाल, सहायक प्रधानाध्यापक प्रेम बराललगायतले लैङ्गिक हिंसाले विद्यार्थीको पढाइमा पार्ने असरका बारेमा वोल्नु भएको थियो । कार्यक्रममा सहभागीले हिंसा हुन नदिन अपनाउनुपर्ने सावधानी तथा हिंसा, दुर्ववहार भएमा गर्नुपर्ने क्रियाकलाप बारेमा जोड दिनु भएको थियो । कार्यक्रममा ६० जना भन्दा बढी विद्यार्थीहरूले भाग लिएका थिए ।