चितवन । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम करिब सत्तरी प्रतिशत सम्पन्न भएको छ ।
चार वर्ष अगाडिदेखि सुरु भएको भूमिगत विद्युतीय करण कार्य अहिलेसम्म सत्तरी प्रतिशत सम्पन्न भएको हो । भरतपुर महानगरको मुख्य क्षेत्रमा मात्र भूमिगत गरिने योजना रहेकोमा योजना थप भएर भरतपुरदेखि चनौलीसम्म भूमिगत हुने भएको छ । यो कार्य थपिएपछि भूमिगत विद्युतको कार्य केही समय लाग्ने पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका सहायक इन्जिनियर सन्दिप विक्रम साहले जानकारी दिनुभयो ।
दुईवटा सबस्टेशनबाट छ वटा फिडर मार्फत भूमिगत लाइन छोड्न तयारी गरिएको छ । सबस्टेशनमा आवश्यक पर्ने प्यानल समयमा आइनसक्दा ती फिडरबाट विद्युत् छोड्न कठिन हुने आयोजनाले जानकारी दिएको छ । हेटौँडा ग्रिड कार्यालयले प्यानल ल्याउँदैछ । चाँडै फिडरहरूबाट विद्युत् छोड्ने तयारीमा रहेको छ । एघार केभिए लाइन जडान भएका छवटा फिडर भूमिगत तवरबाट सञ्चालन गर्न सक्ने अवस्थामा पुगेको भए पनि अन्डरग्राउण्ड गर्नका लागि सुरुआती प्वाइन्टमा प्रयोग हुने प्यानल अभावले लाइन छोड्न सकिएको छैन । बसेनी सबस्टेशन र आँपटारी सबस्टेशनमा प्यानल आउनासाथ भूमिगत विद्युत छोडिने छ ।
पछिल्लो सम्झौताअनुसार भरतपुर महानगरपालिका भित्र चनौली लाइन जडानका लागि भरतपुर महानगरको मुख्य सहरी क्षेत्रमा भूमिगतमार्फत काम गर्दै आएको छ । प्रहरी तालिम केन्द्र पछाडि रहेको नारायणी लिफ्ट नहरको छेउबाट पश्चिम चितवन लैजाने काम भइराखेको इन्जिनियर साहले जानकारी दिनुभयो ।
बसेनीबाट भरतपुर महानगरपालिका अगाडिसम्म, आँपटारीबाट पोखरा बसपार्कसम्मको सडक र केन्द्रीय बस ट्रमिनलबाट गोन्द्राङसम्मको सडक थपिएको छ । केन्द्रीय बस ट्रमिनलबाट गोन्द्राङसम्मको सडकमा पहिला ३३ केभिए लाइनमात्र भूमिगत गर्ने भनिएको भए पनि अहिले थप गरी ११ केभिए र चार सय भोल्टको लाइनलाई भूमिगत काम भइराखेको छ ।
भरतपुरको पुलचोकबाट गोन्द्राङसम्मको छ लेन सडक र बाइपास सडकमा मात्र भूमिगत गर्न थालिएकोमा अहिले नयाँ क्षेत्र थप गरेसँगै बजेट पनि थप गरिएको उहाले जानकारी दिनुभयो । भरतपुर महानगरभित्र विद्युतीय तार भूमिगत गर्नका लागि रु एक अर्ब ४० करोड लागत लाग्ने छ । सुरुआती समयमा रु एक अर्ब ३० करोड बजेट भरतपुरलाई विनियोजन गरिएको थियो ।
ठेक्का सम्झौताअनुसार पहिलो चरणको समय सन् २०२४ को जनवरी २० मा सकिएसँगै पुनः आठ महिनाका लागि समय थप गरी काम अघि बढाइएको छ । काम थप हुँदै जाँदा समय पनि थप गरिँदै लैजाने तयारी रहेको छ । एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।
भूमिगत तार विछ्याउने काम सकिएको स्थानमा सर्विस पोलहरुमा जडानको काम गर्ने तयारी रहेको छ । भरतपुरको मुख्य सडकमा भूमिगत तार भएपनि भित्री सडक र घरायसी प्रयोजनका लागि भित्र गाडिएको पोलमा भने तार जडान कार्य भइराखेको उहाले जानकारी दिनुभयो ।


