चितवन, । चुरेको जलाधार क्षेत्र संरक्षण गर्न माडीको रिउ खोलामा तटबन्धन गरिएको छ ।
कमलो चुरे पर्वतको क्षेत्र वर्षातमा पानीले पार्ने क्षती रोक्नको लागि रिउ खोलामा तटबन्धनको काम भएको राष्ट्रपति चुरे तराइ मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाइ भरतपुरका प्रमुख श्यामबाबु लोप्चनले जानकारी दिनुभयो । हरेक वर्ष चुरेमा हुने भुक्षय, यहाँको स्रोतमा आएको नोक्सानीको असर जलाधारमा प्रभाव पार्ने भएपछि रिउ खोलमा तटवन्धन गरेर चुरेको संरक्षण काम भइराखेको उहाले जानकारी दिनुभयो ।
चुरे पहाडबाट वग्दै आउने रिउको उद्गम स्थल र भुक्षय हुने स्थानमा स्थायी प्रकृतिको रोकथाम गरिएको हो । राष्ट्रपति चुरे तराइ मधेश संरक्षण विकास समितिले रिउ वगइ नदी प्रणाली कार्यक्रम मार्फत संरक्षणका काम गर्दै आएको छ । रिउ खोलाको संरक्षणले माडी नगरपालिकाको नौ वटा वडा, भरतपुर महानगरपालिकाको वडा नंं २८ र पर्सा जिल्लाको ठोरी गाउँपालिकाको वडा नंं १ मा प्रभाव पार्नेछ ।
रिउ खोलाले आठ हजार ९७० घरधुरीलाई प्रभावित पार्ने भएकाले यसको संरक्षणमा विशेष ध्यान दिएर गत वर्ष मात्रै नै पाँचवटा संरक्षणका काम सम्पन्न भएको कार्यालय प्रमुख लोप्चनले जानकारी दिनुभयो । गत वर्ष एक करोड १२ लाख रुपियाँमा संरक्षणका काम सम्पन्न भएको कार्यालयका सूचना अधिकारी नविन श्रेष्ठले जानकारी दिनुभयो ।
संरक्षणका काममा गल्छी पहिरो खहरे खोला रोकथामका लागि ४० लाख रुपियाँ लागेको छ । त्यस्तै गरी वृक्षारोपण, वातावरणीय संरक्षणका निर्माण, ड्याक निर्माण, पोखरी निर्माणलगायतका काममा ७२ लाख रुपियाँ लागेको छ । संरक्षणको कार्यले चुरे, भावर र तराइ मधेशमा जलउत्पन्न प्रकोपबाट हुन सक्ने क्षती न्यूनिकरण हुने कार्यालयका प्रमुख लोप्चनले बतउानुभयो ।
राष्ट्रपति चुरे तराइ मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाइ भरतपुरले चितवन, नवलपरासी, मकवानपुर, वारा, पर्सा र रौतहटको चुरेको क्षेत्रमा काम गर्दै आएको छ । चुरे बाहिर र चुरेको भित्री क्षेत्रमा संरक्षणमा काम गरेको कार्यालयले जानकारी दिएको छ । वृक्षारोपण, खोला तथा नदी नियन्त्रण, भुक्षय रोकथाम, पानीको सेतको संरक्षण, पोखरी निर्माणलगायतको काम भइराखेको प्रमुख लोप्चनले बताउनुभयो । पूर्वी चितवनको राप्ती, लोथरमा संरक्षणको काम भइराखेको छ ।