चितवन २३ फागुन । नेपालमा पानी जहाज चलाउने विषयमा दुई देशको संयुक्त टोलीले यहाँका नदीमा सम्भाव्यता अध्ययन पूरा गरेको छ ।
नेपाल र भारतको संयुक्त टोलीले पूर्वमा कोसी, नारायणी नदीमा जहाज चलाउने विषयमा स्थलगत अध्ययन गरी निर्णय लिने तयारी गरेको हो । टोलीले दुइ नदीमा जहाज चलाउने र रोकिने स्थानको स्थलगत अध्ययन गरेको थियो ।
अध्ययनका क्रममा टोलीले नेपालमा पानी जहाज रोकिने ठाउँ (टर्मिनल) स्थानको खोजी समेत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पानी जहाज कार्यालयको उद्घाटन गर्नुभएको तीन हप्तापछि नेपालमा जल परिहवन सञ्चालनका लागि टोलीले अध्ययन ग¥यो ।
मंगलबार र बुधबार दुइदिन लगाएर गरेको अध्ययनपछि टोलीले प्राविधिकसंगको छलफलबाट चलाउने विषयमा टुङगो लगाउने भएको छ । आज र भोली काठमाण्डौमा हुने छलफलले नदीमा जहाज चलाउन मिल्ने विषयमा निर्णय गर्ने तयारी रहेको टोलीले जानकारी दिएको छ ।
नेपालमा जल परिवहन सञ्चालनको सम्भावना खोज्न गठित जलमार्ग अध्ययन समितिका संयोजक माधव बेल्बासे, भारतको तर्फबाट ‘इन्ल्याण्ड वाटर–वे अथोरेटी अफ इण्डिया’ का उपाध्यक्ष प्रबिर पाण्डेको नेतृत्वमा रहेको संयुक्त टोलीले कोसी र गण्डकी नदीमा जल परिवहन सञ्चालनको सम्भाव्यता अध्ययन गरेको थियो ।
दुइ नदीको नेपालतर्फ जहाज रोकिने ठाउँ (टर्मिनल) निर्माणका लागि कोसी ब्यारेजको एक किलोमिटर दक्षिण हनुमाननगर क्षेत्रमा सम्भावित ठाउँका लागि अध्ययन गरेको जानकारी उर्जा, जल तथा सिंचाइ मन्त्रालयका प्रवक्ता प्रवीणराज अर्यालले जानकारी दिनुभयो । दुईवटै नदीको पानी, बालुवा र माटोको अवस्थाबारे समेत अध्ययन गरेको छ । नारायणी नदीमा भने नवलपरासीको त्रिवेणी व्यारेजमा जहाज रोकिने ठाउ (टिर्मिनल) निर्माण गरिने तयारी रहेको छ । गण्डकी ब्यारेजको स्पर नं. १२ क्षेत्रमा उपयुक्त हुने टोलीको ठहर छ । त्रिवेणीको ब्यारेजको तल्लो क्षेत्र तथा नवलपुरको कावासोती क्षेत्रमा टर्मिनल निर्माण गर्न सकिने सम्भावना देखिएको छ ।