चितवन, । चितवनको भरतपुर महानगरपालिका–११ मा रहेको युनाईटेड टेक्निकल कलेज (यु–टेक)मा ‘दिगो निर्माण प्रविधि व्यवस्थापनः चुनौती र अवसर विषयमा अन्तर्राष्ट्रिय सम्मेलन’ सम्पन्न भएको छ ।
कलेजको सभाहलमा भएको सम्मेलनको पोखरा विश्वविद्यालय, विज्ञान तथा प्रविधि संकायका डिन प्राध्यापक राजेश कुमार ठकुराठीले समुद्घाटन गरेका थिए । सो क्रममा बोल्दै डिन ठकुराठीले दिगो निर्माण र व्यवस्थापनको महत्व र यसका अवसरहरुको चर्चा गर्दै युवाहरुलाई यस क्षेत्रमा संलग्न हुन प्रोत्साहित भएका थिए ।
सम्मेलनमा बोल्दै कलेजका प्रबन्ध निर्देशक बाबुराम उपाध्यायले दिगो निर्माण प्रविधिको प्रयोगले समाजमा पर्न सक्ने सकरात्मक प्रभावहरुको बारेमा चर्चा गरेका थिए । यस्तै कलेजका अनुसन्धान निर्देशक डा.अर्जुन बानियाँले सम्मेलनको मुख्य उद्देश्य नै दिगो निर्माण प्रविधि र व्यवस्थापनमा रहेका चुनौति र अवसरहरुको चर्चा गर्नु नै रहेको बताए । कलेजका प्रिन्सिपल प्राध्यापक डा।केशव दत्त अवस्थीले सहभागिहरुको नयाँ सोँचबाट आफू प्रभावित र यसले आधूनिक प्रविधिक उपयोग र नवप्रवर्तनमा महत्वपूर्ण योगदान दिने बताउनुभयो ।
यस्तै सम्मेलनमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका कृषि संकायका डिन डा.अर्जुन कुमार श्रेष्ठ दिगो निर्माण प्रविधि र व्यवस्थापनको बारेमा चर्चा गरेका थिए । कलेजका सिभिल विभागीय प्रमुख निरज बोहोराले सम्मेलनमा सहजीकरण गरेका थिए । सम्मेलनमा नेपाल, अमेरिका र बेलायतका विभिन्न विश्वविद्यालयबाट आएका अनुसन्धानकर्ताहरुले आफ्नो अनुसन्धान प्रस्तुत गरेका थिए । सम्मेलनमा विभिन्न प्राविधिक सत्रहरु समेत संचालन गरिएको थियो । जसमा विभिन्न विश्वविद्यालय तथा युटेक कलेजका विद्यार्थीहरुले आफ्नो अनुसन्धान प्रस्तुत गरेका थिए । सम्मेलनको उद्घाटन सत्र कलेजका अध्यक्ष चुडामणी खनालको अध्यक्षतामा सम्पन्न भएको थियो । कलेजले सन् २०२१ मा पनि यस प्रकारको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो ।