काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षीबीच आज (शनिबार) भेट हुँदैछ । प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच आइतबार साँझ भेटवार्ताको समय तय भएको छ ।
उनीहरूबीच स्थानीय समयअनुसार साँझ साढे पाँच बजेदेखि ६ बजेसम्म होटेल लोटे न्युयोर्क प्यालेसमा ‘साइडलाइन’ भेटवार्ता हुने प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ । भेटका लागि नेपाली पक्षबाट धेरै अघिदेखि गृहकार्य भएको थियो । भारतीय पक्षबाट शुक्रबार सकारात्मक सन्देश पाएपछि भेटको वातावरण बनेको हो ।
ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतीय प्रधानमन्त्रीसँग पहिलोपटक भेट हुन लागेको हो । यसअघि थाइल्याण्डमा तय भएको बिमस्टेक बैठकमा ओली र मोदीबीच भेटवार्ता हुने भनिए पनि बैठक नै स्थगित भएको थियो । लगत्तै भारत भ्रमणमा रहेका बेला परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएकी थिइन् । त्यसमा भारतले कुनै जवाफ दिएको थिएन । नेपालले निम्तो गरेको भएता पनि नेपालका प्रधानमन्त्री ओलीले अहिलेसम्म भारतीय पक्षसँग भ्रमणको औपचारिक निम्तो भने पाएका छैनन ।