चितवन ३ असोज । संविधान दिवसको अवसरमा विहीबार भरतपुरको स्कूल अफ हेल्थ साइन्समा दिप प्रज्वलन गरिएको छ ।
सिटीइभिटी अन्तर्गत कर्मचारी संगठनको आयोजनामा कलेजको परिसरमा दिपप्रज्वलन सहित मिठाइ वितरण गरेर खुसियाली गरिएको थियो । कार्यक्रममा सिटीइभिटी अन्तर्गत कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष निरज भट्टले संविधान जारी भएको नौ वर्ष वितिसक्दा पनि जनताले अधिकारको अनुभूति गर्न नसकेको बताउनुभयो । संविधानले गरेका व्यवस्था पूर्ण रुपमा कार्यान्वयनमा आउनु पर्नेमा जोड दिदै जनताको खबरदारी आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका वागमती प्रदेश सह इन्चार्ज तथा प्राध्यापक शालिग्राम नेपालले वलिदानी पूर्वक आएको संविधानको रक्षा गर्दै कानून भन्दा माथि कुनै व्यक्ति नहुनेमा जोड दिनुभयो । संविधानमा भएका व्यवस्थाको विषयमा जनता सचेत भएर सरकारलाई कार्यान्वयनमा खवरदारी गर्न आवश्यक भएको बताउनुभयो । सिटीइभिटी अन्तर्गत कर्मचारी संगठन स्कूल अफ हेल्थ साइन्स इकाइ कमिटीका अध्यक्ष संजय साह, विद्यार्थी कमल साउदले आफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा स्कूल अफ हेल्थ साइन्सका प्राध्यापक, कर्मचारी विद्यार्थीको सहभागिता रहेको थियो ।