च्याउ खेतीबाट आम्दानी गर्दै किसान

 

चितवन, १ असोज । गत वर्ष घाटा खाएका च्याउ किसानले यस वर्ष भने राम्रो आम्दानी गर्न सफल भएका छन् ।
च्याउ खेतीमा राम्रो उत्पादन गर्दै आएको कालिका नगरपालिकाको पदमपुर क्षेत्रका किसानले अहिले मूल्य पाएका हुन् । दैनिक १५ क्वीन्टलसम्म उत्पादन गर्दै आएका किसानको प्रमुख बजार नारायणगढ हो । यही बजारबाट अहिले उनीहरुले उत्पादन गरेको च्याउ खपत भइराखेको छ ।
गत वर्ष यहाँका सबै च्याउ उत्पादन गर्ने किसानले मूल्य पाएका थिएनन् अहिले त्यो समस्या छैन ग्रामिण च्याउ कृषक समुहका अध्यक्ष प्रकास पौडेलले बताउनुभयो । गत वर्ष प्रतिकिलो ६० देखि ७० रुपियाँमा बिक्री गर्न वाध्य भएका थियौ । अहिले कम्तीमा पनि एकसय ६० रुपियाँ प्रतिकिलोमा बिक्री भएको छ । यो मूल्य हामीले व्यापारीलाई दिने हो । व्यापारीले खुद्रा पसलमा दिएर उपभोक्तासम्म जादा प्रतिकिलो दुइसय ८० देखि ३ सय भन्दा माथि हुने गर्दछ ।
अध्यक्ष पौडेलका अनुसार च्याउ उत्पादक किसानले प्रतिकिलो एकसय रुपियाँ भन्दा तल बिक्री गर्नु पर्ने अवस्था आउदा घाटा लाग्ने गर्दछ । गत वर्षको दसैंमा र त्यसपछि जाडो महिनामा च्याउले मुल्य पाएका थिएन । बजारमा माग कमी भएको र उत्पादन धेरै भएको कारण गर्त वर्ष घाटा लागेको उहाले बताउनुभयो । समुहमा आवद्ध सबै किसानले धेरै घाटा व्यहोर्नु परेको थियो । व्यक्तिगत रुपमा मैले मात्रै १४ लाख रुपियाँ घाटा खाएका थिए अध्यक्ष पौडेलले बताउनुभयो ।
पदमपुर क्षेत्रमा १७ जना किसानले व्यवसायिक रुपमा च्याउ खेती गर्दै आउनु भएको छ । यहाँ उत्पादन भएको च्याउको मुख्य बजार नारायणगढ भएपछि यहाँबाट राजधानी काठमाण्डौसहित अन्य सहरमा जाने गरेको छ ।
नौ वटा टनेलमा च्याउ खेती गर्दै आउनु भएका कालिका नगरपालिका वडा नं. २ का रामबहादुर भण्डारीले घाम लागेर गमी धेरै भएको समय च्याउको लागि जोखिम हुने बताउनुभयो । तापक्रम मिलाउन नसक्दा उत्पादनमा कमी हुने उहाँको भनाइ छ । तापक्रमलाई ध्यान दिएर गरिने खेती भएकाले यसमा विषेश ध्यान दिनु पर्ने भण्डारीले बताउनुभयो । यस वर्ष वर्षा धेरै भएको तापक्रममा धेरै असर नपरेको कारण उत्पादन वृद्धि भएको छ । यस वर्ष मुल्य राम्रो पाएकाले सन्तुष्ट हुने अवस्था आएको उहाले बताउनुभयो । भण्डारीले दैनिक दुइ क्वीन्टल च्याउ उत्पादन गर्दै आउनु भएको छ । उहाको स्थायी र अस्थायी गरी १३ हजार १४० वर्ग फिटको टनेलमा च्याउ खेती गर्दै आउनु भएको छ । समुहमा आवद्ध किसानको मात्र ७० वटा टनेल रहेको छ ।
व्यवसायिक च्याउ खेती गर्ने किसानलाई सामग्रीमा सहयोग गर्दै आएको कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले बताउनुभयो । हरेक वर्ष अनुदानमा सहयोग गर्दै आएका छौ केही गर्छौ भन्ने किसान र व्यवसायिक गर्दै आएकालाई सहयोग गरेको उहाले जानकारी दिनुभयो । पालिकाले चालु आर्थिक वर्षमा च्याउको बिउमा ५० प्रतिशत अनुदान दिएको छ । गत आर्थिक वर्षमा संघीय ससर्त मार्फत आउने छ लाख रुपियाँ च्याउ खेती विकासको लागि खर्च भएको थियो । यस वर्ष पालिकाको आन्तरिक स्रोतबाट दुइ लाख रुपियाँ छुट्टाइएको छ ।

शेयर गरौ

ताजा अपडेट