काठमाडौं । संघीय संसदअन्तर्गत् प्रतिनिधि सभाको बैठक आज (सोमबार) बस्दैछ । संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही असोज ४ गतेदेखि गर्न लागेको अमेरिका भ्रमणको कार्यसूची सदनलाई जानकारी गराउने छन् ।
प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन अमेरिका जाँदैछन् । यद्यपि माओवादी केन्द्रले सदनको अवरोध जारी राख्ने निर्णय गरेको छ । गत भदौ १२ गते नेकपा एमालेका सांसद योगेश भट्टराईले सदन बोल्ने क्रममा माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’ लाई ‘हिंसा’ को संज्ञा दिएका थिए ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले ध्यानाकर्षण भएको भन्दै संसद्को अभिलेखबाट हटाउन माग गरेका थिए । सभामुख देवराज घिमिरेले ‘असंसदीय’ नरहेको रूलिङ गरेपछि माओवादी केन्द्रले सदनको काम कारबाही अघि बढ्न दिएको छैन । आइतबार बिहान सभामुख घिमिरेले प्रमुख सचेतक, सचेतकहरूसँग छलफल गरेका थिए । त्यो बैठकमा भएको कुराकानी पार्टी संसदीय दलमा छलफल गर्ने भन्दै एक घण्टा समय मागेको थियो ।
माओवादी केन्द्रको सोमबार बसेको संसदीय दलको बैठकले सदनको अवरोध कायमै राख्ने निर्णय गरेकाले आजको बैठक के हुने भन्ने अन्योल कायमै छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको चालू बर्खे अधिवेशन आजै राति १२ बजेबाट अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरिसकेको छ ।