काठमाडौं, २२ फागुन । सांसद रेशमलाल चौधरीलाई अदालतले जन्म कैदको फैसला सुनाएपछि रिसाएको राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
टीकापुर घटनामा दोषी देखाइ कैलाली अदालतले राष्ट्रिय जनता पार्टीका सांसद चौधरीलाई जन्मकैदको फैसला सुनाएको थियो । फैसला आए लगतै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
अदालतको आदेश आएलगत्तै बसेको राजपा केन्द्रीय समितिको आपतकालिन बैठकले फिर्ता लिने निर्णय लिएको थियो । पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले जानकारी दिनु भयो ।
कैलाली जिल्ला अदालतले तीन वर्ष अघि भएको एउटा घटनामा राष्ट्रिय जनता पार्टीका सांसद रेशमलाल चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दैै जन्मकैद जेल सजायको फैसला गरेको थियो ।
कैलालीमा २०७२ भदौ ७ मा भएको ७ सुरक्षाकर्मी र नाबालिक हत्या आरोपमा प्रतिनिधि सभा सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला भएको हो । कैलाली जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो ।
टीकापुर घटनामा संलग्नको अभियोगमा ५८ जना विरुद्ध कैलाली जिल्ला अदालतमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाका चोरीमा मुद्दा चलिरहेको छ । फरार रहेकाहरुको मुद्दा भने मुल्तवीमा रहने अदालतले जनाएको छ । जिल्ला न्यायाधीश यज्ञराज भट्टराईको इजलासमा वादी र प्रतिवादीका तर्फबाटको बहस मंगलबार सकिएको थियो ।