शक्तिखोर । चेपाङ समुदायको महान चाड ‘न्वागी’ चितवन जिल्लामा धुमधाम गरी मनाएका छन् ।
चितवनमा चेपाङहरुको बाक्लो बसोबास रहेको कालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका बस्तीहरुमा यो पर्व मनाइएको हो । नेपाल चेपाङ संघ कालिका नगर कमिटीको आयोजनामा शक्तिखोरमा वृहत सास्कृतिक कार्यक्रम गरी मनाएको छ । कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले भाषा सस्कृति माथि भइराखेको प्रहारलाई रोक्न यस्ता कार्यक्रमले धेरै मद्यत पुग्ने बताउनुभयो ।
उहाले विभिन्न जातजाति धर्मको अलग्गै पहिचान बोकेको यो समाजमा चेपाङ समुदायको भाषा सस्कृति जगेर्ना गर्न सरकार प्रतिवद्ध भएको बताउनुभयो । उहाले आर्थिक रुपमा विपन्न भएका चेपाङ समुदाय उत्पादनसंग जोडिन अनुरोध गर्नुभयो । आर्य आर्जनमा सहभागी हुनेलाई नगरपालिकाले आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । आफ्नो आम्दानी अनुसार खर्च गर्ने सस्कार बसाल्न सकेमा आर्थिक संकटबाट टाढा रहन सकिने बताउनुभयो ।
नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठले विगतमा भन्दा फरक व्यवस्था आएकाले अब सधै अभाव र विलौना गरेर वस्न नहुने बताउनुभयो । चेपाङ समुदायबाट उच्च शिक्षा अध्ययन गर्ने, राजनीतिक चेनता भएका, परिवर्तनमा सहभागी भएकाहरु यही समाजमा छन् । ती अगुवाहरुनै राजनीतिक नेतृत्वमा आएर समाज परिवर्तन गर्नु पर्ने बताउनुभयो । चेपाङ समुदायबाट संविधान सभा सदस्य भइसकेको प्रदेशमा मन्त्री भइसकेका छन् उहाले भन्नुभयो अब स्थानीय पालिका प्रमुख भएर आफ्नो क्षमता विकास गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा नेपाल चेपाङ संघका केन्द्रीय सदस्य डिल्लीराम चेपाङले लिपिको संरक्षण गर्नु आवश्यकता भएको बताउनुभयो । विदेशी भाषा र अन्य भाषाले चेपाङको मौलिकता हराउन थालेको भन्दै चेपाङ भाषाको लिपि सुरक्षित राख्नु पर्नेमा जोड दिनुभयो । २०७२ को संविधानपछि पालिकाहरु निर्माण गर्न चेपाङ जातिको संरक्षणमा ध्यान नपुगेको बताउनुभयो । चितवनको कोराक, लोथर, सिद्धिलाई गाउपालिका नै कायम राख्न माग गर्नुभयो । गाउपालिका भएमा त्यहाँको सरकार चेपाङ जातिले नै सञ्चालन गर्ने अवसर पाउने बताउनुभयो । कालिका नगर कमिटीका अध्यक्ष कृष्णबहादुर चेपाङले स्थानीय सरकार विपन्न चेपाङ समुदायको संरक्षणमा लाग्नु पर्ने बताउनुभयो ।
यस्तै गरी पूर्वी चितवनको चेपाङ बालबालिकालाई आवासीय शिक्षा दिईरहेको गामबेसी चेपाङ संरक्षण केन्द्र रत्ननगरले पनि ‘न्वागी’ मनाएको छ । गाउँबाट आएका चेपाङका गुरु पान्देहरुले अन्नपातमा पूजापाठ गरेपछि खाना खुवाईएको थियो । चेपाङका गुरु पान्दे अमृतलाल चेपाङले सबै चेपाङ बस्तीहरुमा धुमधामका साथ मनाउने गरिएको बताउनुभयो । यो पर्व लोप हुने जोखिम रहेकाले संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो ।
चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्माले चेपाङ समुदायका युवा पुस्ताहरुमा आफ्नो चाडपर्व, संस्कृति बिर्सदै गएकाले केन्द्रमा आश्रित बालबालिकाहरुलाई पर्वको जर्गेना गर्न धुमधामका साथ पान्दे बोलाएर पर्व मनाइएको बताउनुभयो । उहाले विगतदेखि नै यसरी केन्द्रमा न्वागी मनाउने गरिएको जानकारी दिनुभयो । केन्द्रमा हाल १५० जना चेपाङ बालबालिकाहरु आवासीय रुपमा अध्ययन गरिरहेका छन् ।
साउन महिनामा बाहिरिएको भगवान भदौं महिनामा आउने र नयाँ अन्नबालीसंग पूजापाठ गरी मात्र भोजन गर्ने परम्परा रहेको छ । न्वागीको दिन घैयाँ धानको चामल, पिँडालु, निबुवा आदि फलफूलले भूमिलाई पूजा गरी पितृलाई खुवाउने गरिन्छ । चेपाङ समुदायमा नयाँ अन्न र फलफूल पितृलाई नचढाइ खाएमा देउता रिसाउँछन् भन्ने धार्मिक मान्यता छ । यसका लागि चेपाङ झाक्रीहरुले एकपाखे ढ्याङ्ग्रो ठोक्दै कुखुराको बली चढाउने गर्दछन् ।
राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा ८४ हजार ३६४ जना चेपाङ छन् । सबैभन्दा धेरै चितवनमा मात्रै ३५ हजार छ सय ३७ सङख्यामा चेपाङ समुदायका मानिस बसोबास गर्छन् । मकवानपुरमा २३ हजार छ सय ५०, धादिङमा १७ हजार एक सय ६० र गोरखामा चार हजार दुई सय ६८ जना चेपाङको बसोबास छ । २६ जिल्लामा चेपाङ समुदायको बसोबास रहेको नेपाल चेपाङका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले बताउनुभयो । चेपाङहरूको राष्ट्रिय पर्व न्वागीका अवसरमा बागमती प्रदेश सरकारले विसं २०७९ देखि चितवन, मकवानपुर र धादिङगरी तीन जिल्लामा भदौ २२ गते सार्वजनिक बिदासमेत दिँदै आएको छ ।