काठमाडौं २२ फागुन । कैलाली–१ का सांसद रेशम चौधरीको पद खारेज हुने भएको छ ।
टीकापुर घट्नामा दोषी ठहर भएपछि सांसद चौधरीको पद खारेज हुने भएको हो । संविधानले नैतिक पतनमा फौजदारी अभियोगमा सजाय पाएको व्यक्ति सांसद हुन नसक्ने प्रावधान गरेको छ । कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र डाँका चोरी मुद्दामा कैलाली जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएपछि चौधरीको पद गुम्ने देखिन्छ ।
संविधानको धारा ८७ ले सांसद हुने योग्यतामा ‘नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको’ व्यक्ति हुनु पर्ने व्यवस्था गरेको छ । लगत्तै धारा ८९ ले ‘धारा ८७ बमोजिम योयता नभएमा वा नरहेमा’ संघीय संसदको सदस्यको स्थान रिक्त हुने व्यवस्था गरेको छ ।
संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले नैतिक पतन देखिने फौजदारी कसूर प्रमाणित भएकाले सांसद पद स्वतः खारेज हुने जानकारी दिनु भयो ।
चौधरीलाई बुधबार कैलाली जिल्ला अदातलले टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको हो । चौधरी माथि ८ सुरक्षाकर्मी र एक नाबालकको ज्यान जानेगरी टीकापुरमा हिंसा भड्काउन मुख्य योजनाकारको रूपमा भूमिका खेलेको अभियोग लागेको थियो ।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भड्किएको हिंसामा ८ सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो । गत वर्षको प्रतिनिधि सभा चुनावमा चौधरी कैलाली–१ बाट सांसद निर्वा्चित भएको थिए । पुर्पक्षका लागि डिल्लीबजार कारागारमा रहेका चौधरीले गत पुस १९ गते सांसदको सपथ लिएका थिए ।