चितवन, १६ भदौ । चितवनको नारायणगढ बजार भएर बग्ने पुङ्गी खोलाको जग्गा संरक्षण गरी सौन्दर्यकरण गर्ने कार्य सुरु भएको छ ।
कुनै समय यो खोलामा नारायणगढ बजारसहित वरपरबाट पौडी खेल्न आउनेको रुपमा परिचित थियो । तर केही वर्षदेखि फोहोर गरेर ढल मिसाउन थालेपछि यसको संरक्षण संगै सौन्दर्यकरण गर्न थालिएको हो । भरतपुर महानगरपालिकाले यो खोलाको सिमाङकन, संरक्षण र सौन्दर्यकरण अभियान एकै पटक सुरु गरिएको महानगर प्रमुख रेनु दाहालले जानकारी दिनुभयो ।
खोलाको सिमाङकनको काम जारी भइरहदा खोलाको अन्तिम विन्दु रामघाट क्षेत्रबाट सौन्दर्यकरणको काम पनि अगाडि बढाएको छ । महानगरपालिकाको वडा नं. ३ र ४ को सिमानामा पर्ने नारायणी र पुङगी खोलाको दोभानबाट सौन्दर्यकरण अभियानको सुरुवात भैसकेको महानगर प्रमुख दाहालले बताउनुभयो ।
महानगरको गौरवको योजनामा समावेश भएको यस खोला सिमाङकन, संरक्षण र सौन्दर्यकरणको पहिलो चरण अन्तर्गत दुबैतर्फ ३५५÷३५५ मिटर क्षेत्रमा सौन्दर्यकरण निर्माण भएको छ । वृक्षरोपण, फुटरेल, रिटेनिङ्ग वाल, रेलिङ्गसहितको मर्निङ र इभिनिङ वाक गर्न मिल्ने गरी संरचना पूरा भएको छ ।
अहिले यस क्षेत्रमा टहलिन, आराम गर्न आउनेको सख्या वृद्धि भएको वडा नं. ३ का अध्यक्ष विकास थापाले जानकारी दिनुभयो । गुरुयोजना अनुसार खोला किनारमा पर्यटकले चिया, खाजा खाने स्टेसन, विश्रामस्थल, खुला व्यायामशाला रहेका छन् ।
१५ करोडको बजेटमा थालिएको कामको केही भाग सकिएको छ । अन्य क्षेत्रमा काम अगाडि बढाउने तयारी भएको वडा नंं ३ का अध्यक्ष थापाले जानकारी दिनुभयो । सौन्दर्यकरणको ठेक्का टिएसएन गिरवान जेभी जोरपाटीले पाएको छ ।
भरतपुर महानगरपालिका र संघीय सरकारको बजेट खर्च गर्ने गरी थालिएको सौन्दर्यकरणको पहिलो चरणको काम ११ महिनामा भित्र गरिसक्ने सम्झौतामा उल्लेख छ । भरतपुरलाई सुन्दर र हेर्नलायक शहर बनाउने उद्देश्य अनुरुप दुई खोलाहरु पुङगी र केरुङगालाई हरियालीसहितको सौन्दर्यकरण गर्न लागिएको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले जानकारी दिनुभयो ।
अहिले निर्माण सम्पन्न भएको ३५५ मिटर क्षेत्रमा खोलालाई दायाँवायाँ पर्खाल लगाएर संरक्षण गरिएको छ । खोलाको सिमा निर्धारण गरेर मोजाइक टायल विछ्याउने, कुर्सी राख्ने हरियाली दुवो रोप्ने, बोट विरुवा हुर्काउने र विश्राम स्थल निर्माण गरिएको वडा अध्यक्ष थापाले जानकारी दिनुभयो । यो खोलाको लम्वाइ ६ किलोमिटर ६४ मिटर रहेको छ । खोलामा अहिले फोहोर फाल्न पूर्ण रुपमा निषेध गरिएको छ ।
खोलाको सिमाङकन सकियो कतिपयको घर खोलामा
महानगरपालिकाले वडा नं. ३ का वडाध्यक्ष विकास थापाको नेतृत्वमा गठन गरेको पुङगी खोला संरक्षण समितिले रामघाट क्षेत्रदेखि गणेशथान क्षेत्रसम्मको सिमाङकनको काम सकेको छ ।
पुङगी खोलाको सिमाङकन गर्न महानगरले २०२७ सालमा नापी भएको नक्सालाई आधार मानेको छ । नापी विभागले २०२२ सालमा लिएको हवाई म्याप, २०२६ सालको नापीको प्लट रजिष्ट्रर, फिल्ड बुक र स्रेस्तालाई आधार मानेर सिमाङकनको काम गरिएको हो । वडाअध्यक्ष थापाले २÷३ ठाउँमा केही विवाद रहेको र त्यसलाई समाधान गर्ने समझदारी अनुसार सिमाङकनको काम सकिएको थापाले बताउनुभयो ।
उहाले भन्नुभयो ‘केही ठाउँमा खोला नै देखिँदैन, कतै व्यक्तिको जग्गामा परेको देखिन्छ, यी ठाउँहरुमा सहमतीमा सिमाङकनका गर्ने सहमती भएको छ, वडा नं. ३ मा समस्या छैन, वडा नं. २ का केही घरधनी बाहिर भएकाले उनीहरु फर्किएपछि सहमती गर्ने भन्ने छ,’ समिति संयोजक समेत रहेनु भएका थापाले भन्नुभयो ‘मुख्य विवाद समाधान भएका छन्, अब सौन्दर्यकरणको थप काम गर्न कुनै समस्या हुँदैन ।’
सिमाङकनका क्रममा झण्डै तीन दर्जनभन्दा बढी घर खोलाकै जग्गा मिचेर बनाएको पाइएको छ । कुनै–कुनै घर त पछि भत्काउँदा आधा हुने अवस्था छ, आधा घर नै खोलाको जग्गामा परेको छ ।
क्षेत्रपुर क्षेत्रमा धेरै घरहरूले पुङगी खोला मिचेर संरचनाहरू बनाएको पाइएको छ । कुनै व्यक्तिका आधा जग्गा खोला वारी, आधा जग्गा खोला पारीसमेत रहेको पाइएको छ । तर, यसपटक महानगरपालिका पुङगी खोला संरक्षणका लागि जस्तोसुकै परिस्थितिमा पनि दृढ भएर लाग्ने संकल्प बोकेको महानगरपालिकाका प्रमुख दाहालले बताउनुभयो ।