चितवन । यहाँका व्यवसायीले नारायणगढ बजार २४सै घण्टा खुला गर्न माग गरेका छन् । शनिबार नारायणगढमा सम्पन्न होटल व्यवसायी सङ्घ चितवनको २८औँ साधारण सभामा व्यवसायीले नारायणगढ बजार सुनसानझैँ भएकाले चहलपहल बढाउन २४सै घण्टा होटल तथा बजार खुला राख्न माग गरेका हुन् ।
विगतमा नारायणगढको पुल्चोक बजार सधैँ खुला रहेको स्मरण गर्दै होटल व्यवसायी सङ्घ चितवनका पूर्वअध्यक्ष इमान्दु बरालले देशकै केन्द्रबिन्दुमा रहेको पुल्चोक फेरि २४सै घण्टा खुला राख्नुपर्ने बताउनुभयो । उहाँले भरतपुर भ्रमण वर्षले यहाँका होटलको अवस्थामा केही सुधार भएको उल्लेख गर्नुभयो । होटलमा दक्ष जनशक्तिको अभावका कारण व्यवसाय सञ्चालन गर्न समस्या हुने गरेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “होटलमा केही समय काम गर्न आउने सिक्ने अनि विदेशतिर जानेको जमात धेरै छ । अहिले होटल विदेश जानका लागि तयार गर्ने थलोजस्तो भएको छ ।”
उहाँले देशकै प्रमुख व्यापारिक केन्द्रका रूपमा चिनिएको नारायणगढ बजार अहिले ७० प्रतिशत खाली रहेको जानकारी दिनुभयो । पार्किङको समस्याले गर्दा पनि व्यवसायी पलायन हुने अवस्था भएको उहाँले बताउनुभयो । नारायणी नदी किनारमा रहेका साना अव्यवस्थित घुम्ती होटललाई व्यवस्थित गरी नारायणी किनारलाई सुन्दर बनाएर नारायणगढको पहिचानको रूपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो । बरालले बजारलाई चलायमान बनाउन २४सै घण्टा खुलाएर सेवा दिनुपर्ने धारणा राख्नुभयो ।
उद्योग वाणिज्य सङ्घ चितवनका कार्यवाहक अध्यक्ष चिरञ्जीवी सुवेदीले भरतपुर भ्रमण वर्षले प्रत्यक्ष फाइदा होटल व्यवसायीलाई भएको र अप्रत्यक्ष रूपमा सबै व्यवसायीलाई फाइदा भएको बताउनुभयो । उहाँले नारायणगढ बजारको अवस्था पार्किङको कारणले अस्तव्यस्त भएको हुँदा वैकल्पिक व्यवस्था गरिनुपर्ने बताउनुभयो । सङ्घले व्यवसायीहरूको समस्या समाधानका लागि विभिन्न काम गर्दै आएको र समस्या समाधानमा सबै व्यवसायी जुट्नुपर्ने उहाँको भनाइ थियो ।
होटल व्यवसायी महासङ्घका अध्यक्ष दिनेशकुमार चुकेले जुनसुकै व्यवसायमा पनि काम गर्ने जनशक्ति अभाव रहेको उल्लेख गर्नुभयो । उहाँले जनशक्ति उत्पादनका लागि एकद्वार प्रणालीबाट तालिमको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय तहहरूले दिने तालिममा होटल व्यवसायी संलग्न भएर तालिम लिने वातावरण हुनुपर्ने र यसलाई व्यावहारिक बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “तालिम दिएर दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ । जसले गर्दा तालिम लिएका आधा बाहिर गए पनि आधा जनशक्तिले यहीँ काम गर्ने अवसर पाउँछन् ।”
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्षले यहाँका होटल व्यवसायीलाई टेवा पुगेको बताउनुभयो । उहाँले यहाँको होटल तथा पर्यटन चलायमान बनाउन भ्रमण वर्षको अवसरमा वन्यजन्तु उद्धार केन्द्रमार्फत पाटेबाघ हेर्ने सुविधा, भारतीय पर्यटकलाई सहज आवागमनका लागि ठोरी भन्सार सञ्चालन, दियालो बङ्गला दरबार खुला गरिएको बताउनुभयो ।
उहाँले भ्रमण वर्षकै अवसरमा आगामी कात्तिकमा धार्मिक महोत्सव गर्न लागिएको जानकारी दिनुभयो । त्यसैगरी भ्रमण वर्ष समापनमा खाना महोत्सव गरिने उहाँले बताउनुभयो । नारायणगढमा भएको पार्किङलगायतका समस्या समाधान गर्न स्थानीय, व्यवसायी र महानगरको छलफलबाट समाधान खोजिने आश्वासन उहाँले दिनुभयो ।