माओवादीको प्रदेशस्तरीय परामर्श समितिको बैठक आजदेखि, जनार्दनको प्रस्तावमा पनि छलफल

 

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक बुधबारबाट सुरु हुँदैछ । साउन ३१ गते सम्पन्न स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको सन्दर्भमा केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीबीचमा व्यापक छलफलका लागि परामर्श बैठक बस्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार आजदेखि बैठक सुरु हुन लागेको हो । बैठक बागमती प्रदेशबाट सुरु हुन लागेको छ । बागमतीका केन्द्रीय सदस्यहरूको बैठक आज बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको प्रवक्ता एवं बागमती प्रदेशका इञ्चार्ज अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् ।

सापकोटाका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरू र प्रदेशका पदाधिकारीहरू सहभागी हुनेछन् । दुई दिनसम्म चल्ने बैठकमा स्थायी समितिको निर्णय, परिपत्रसहितका प्रस्तावमाथि परामर्श लिइने उनले बताएका छन् । बैठकमा उपमहासचिव जनार्दन शर्माले स्थायी समितिमा पेस गरेको प्रस्तावमाथि पनि छलफल हुने भएको छ ।

शर्माको प्रस्ताव छलफलका लागि पेस हुने भएपछि उनी पक्षधर प्रदेश कमिटी र केन्द्रीय कमिटीका सदस्यहरुले बैठकमा उक्त दस्तावेजको पक्षमा लिखित र मौखिक धारणा राख्ने एक नेताले जानकारी दिए । परामर्श समितिको बैठक अन्य प्रदेश र मोर्चा कमिटीहरूमा बैठक असोज ३ गतेसम्म चल्नेछ । जसमा उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा कार्यरत केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ७ र ८ गते बस्ने छ ।

त्यस्तै गण्डकी प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ९ र १० गते, सुदूरपश्चिम प्रदेशका केन्द्रीय सदस्यहरू तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ १२ र १३ गते, कर्णाली प्रदेशका केन्द्रीय सदस्यहरू तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ १४ र १५ गते, लुम्बिनी प्रदेशका केन्द्रीय सदस्यहरू तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ १६ र १७ गते, तीन वटै केन्द्रीय आयोगका सदस्यहरूको बैठक भदौ १८ र १९ गते, मधेस प्रदेशका केन्द्रीय सदस्यहरूको बैठक भदौ २२ र २३ गते, पूर्व, कोशी प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ २४ र २५ गते बस्ने छ भने ज।व।श मोर्चामा कार्यरत पार्टी केन्द्रीय सदस्यहरू र केन्द्रीय विभागहरूमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठक भदौ २७ र २८ गते बस्ने छ ।

त्यस्तै प्रवास प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरू तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ३१ र आश्विन १ गते, ज्येष्ठ कम्युनिस्ट मञ्च र केन्द्रीय सल्लाहकारहरूको बैठक असोज २ र ३ गते बस्ने तय भएको छ ।

शेयर गरौ

ताजा अपडेट