चितवन । नेकपा (एमाले) का संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले एमाले पार्टी निर्माणको नयाँ चरणमा रहेको बताउनु भएको छ ।
केन्द्रीय सचिवालयको निर्णयबाट चितवनमा नयाँ जिम्मेवारी पाएका नेताहरुलाई वुधबार भरतपुरमा आयोजिक बधाई तथा स्वागत कार्यक्रम सम्वोधन गर्दै नेता अधिकारीले पार्टी रि इन्जिनियरिङ् र रि शुद्धिकरणको अभियानमा रहेको बताउनुभयो । अब कामको मूल्याङ्कनका आधारमा नेताहरुले जिम्मेवारी पाउनेछ । अब कसैलाई टिकट दिनुपूर्व, नयाँ नियुक्ति गर्नुपूर्व उसको परीक्षा लिइने छ ।
सैद्धान्तिक परीक्षा र कार्यसम्पादन मूल्याङ्कनका आधारमा नयाँ जिम्मेवारी सुम्पिनेछ । मैदानमा पठाएर नेता कार्यकर्ताको परीक्षण गर्ने प्रणाली पार्टीले विकास गरेको छ । सदस्यता विस्तारमा जोड दिन नेता कार्यकर्तालाई निर्देशन दिँदै उहाले पार्टीलाई मजबुत बनाउनेतर्फ लाग्न आग्रह गर्नुभयो ।
पार्टी स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले संविधान कार्यान्वयनका लागि काँग्रेससँग एमाले मिलेको स्पष्टिकरण दिँदै आगामी चुनावमा काँग्रेस नै एमालेको प्रतिस्पर्धी हुने बताउनुभयो । ०७९ मा अपेक्षित परिणाम प्राप्त हुन सकेन डाक्टर भट्टराइले भन्नुभयो ०८४ मा पार्टी एक ढिक्का भएर लाग्न सकेमा पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन । ०८४ मा पनि सफलता प्राप्त गर्न सकिएन भने त्यो हाम्रै आन्तरिक कारणले गर्दा प्राप्त गर्न नसकेको हुनेछ ।
कार्यक्रममा पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली, पोलिट ब्युरो सदस्य एवम् निवर्तमान चितवन जिल्ला इन्चार्ज पार्वत गुरुङ, पार्टी बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेललगायतले पार्टीलाई बलियो बनाएर निर्वाचनमा परिणाम ल्याउने गरी काम गर्नु पर्ने बताउनुभयो । नेताहरुले पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्दै, पार्टीलाई हरेक टोलटोलमा मजबुत बनाउँदै लगेर आगामी चुनावमा पार्टी प्रथम हुने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
स्वागत कार्यक्रममा बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी प्राप्त गरेका पार्टी स्थायी कमिटी सदस्य राजन भट्टराई, चितवन जिल्लाको इन्चार्जको जिम्मेवारी प्राप्त गरेका पार्टी पोलिटब्युरो सदस्य देवी ज्ञवाली, नेपाल खेलकुद महासंघको इन्चार्जको जिम्मेवारी प्राप्त गरेका पार्टी केन्द्रीय सदस्य जेएन थपलिया, चितवन संघीय निर्वाचन क्षेत्र ३ को इन्चार्जको जिम्मेवारी प्राप्त गरेका पार्टी केन्द्रीय सदस्य यमबहादुर परियार, केन्द्रीय सदस्यमा नियुक्त भई चितवन संघीय निर्वाचन क्षेत्र नं. २ को इन्चार्जको जिम्मेवारी प्राप्त गरेका संविधान सभा सदस्य कृष्णभक्त पोखरेल, केन्द्रीय भूमि व्यवस्था विभाग सचिवको जिम्मेवारी प्राप्त गरेका विजय सुवेदीलाई बधाई तथा स्वागत गरिएको हो ।
यसैगरी सोही अवसरमा बागमती प्रदेश वन तथा वातावरण मन्त्री कृष्ण सिलवाललाई पनि बधाई तथा स्वागत गरिएको छ । यसैगरी प्रदेश कमिटीमा मनोनित भएका चितवनका नेताहरु र राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशको दोश्रो अधिवेशनबाट विभिन्न जिम्मेवारी पाएका चितवन भूगोलका नेताहरुलाई समेत बधाई तथा स्वागत गरिएको छ ।
