सचिव मिस्रीको भ्रमणपछि भारतले भन्यो : गहिरो र मैत्रीपूर्ण सम्बन्ध अघि बढाउन मद्दत भएको छ

काठमाडौं : भारतीय विदेशमन्त्री विक्रम मिस्री दुई दिने नेपाल भ्रमण सकेर फर्किएका छन् ।  आइतबार नेपालको पहिलो औपचारिक भ्रमणमा आएका सचिव मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ‌ओ‌ली, सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, मन्त्री लगायतसँग शिष्टचार भेट गरे ।

परराष्ट्र सचिव सेवा लम्सालको अपौचारिक निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा आएका मिस्री भ्रमण सकेर सोमबार स्वादेश फर्किएका छन् । मिस्रीको भ्रमण बारेमा भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेर द्विपक्षीय सम्बन्धलाई अघि बढाउन मद्दत गरेको जनाएको छ । भनेको छ, ‘छिमेकी पहिलो नीति अन्तर्गत नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार हो । विदेश सचिवको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै हाम्रा द्विपक्षीय सम्बन्धलाई अघि बढाउन मद्दत गरेको छ ।’

भेटघाटका क्रममा दुवै पक्षले ऐतिहासिक, साँस्कृतिक, सभ्यतागत तथा जनता–जनताबीचको सम्बन्धमा गाँसिएको भारत र नेपालबीचको गहिरो र मैत्रीपूर्ण सम्बन्धमाथि जोड दिएको विदेश मन्त्रालयले जनाएको छ । भनेको छ, ‘दुवै पक्षले हालैको वर्ष द्विपक्षीय सहकार्य विशेष गरी कनेक्टिभिटीका विभिन्न क्षेत्र जस्तैं भौतिक, डिजिटल, ऊर्जा र जनता–जनताबीचको सम्बन्धमा हासिल उल्लेखनीय प्रगतिमा सन्तोष व्यक्त गरे जुन सडक, पुल, एकीकृत जाँच चौकी, अन्तरदेशीय रेलवे साथसाथै पेट्रोलियम पाइपलाइन सम्बन्धी पूर्वाधार परियोजनाको निरन्तर कार्यान्वयनमा प्रकट भएको छ ।’

शेयर गरौ

ताजा अपडेट