काठमाडौं । शेख हसिनाका छोरा साजिव वाजेदले आफ्नी आमा शेख हसिनाले आधिकारिक रूपमा प्रधानमन्त्रीबाट राजीनामा नदिएको बताएका छन् । अमेरिकामा रहेका वाजेदले समाचार संस्था रोयटर्ससँग कुरा गर्दै आफ्नी आमाले प्रधानमन्त्रीबाट राजीनामा नदिएको बताएका हुन् ।
‘मेरी आमाले आधिकारिक रूपमा राजीनामा दिनु भएको छैन । त्यसका लागि उहाँले समय नै पाउनु भएन । उहाँले वक्तव्य जारी गरेर राजीनामा दिने योजना बनाउनु भएको थियो । तर आन्दोलनकारीहरूले प्रधानमन्त्री निवास घेरेर र्याली गर्न थाले । उहाँलाई आफ्नो सामान प्याकिङको समेत समय भएन,’ उनले भने ।
वाजेदले संविधान अनुसार हसिना नै बंगलादेशको प्रधानमन्त्री रहेको समेत दाबी गरेका छन् । ‘संविधान अनुसार उहाँ अझै पनि देशको प्रधानमन्त्री हुनुहुन्छ । यद्यपि राष्ट्रपतिले विपक्षी दलका नेता र सुरक्षा निकायका प्रमुखहरूको सल्लाहमा संसद विघटन गरे र प्रधानमन्त्रीले आधिकारिक रूपमा राजीनामा नगरी अन्तरिम सरकार गठन गरियो,’ उनले भने ।
अन्तरिम सरकारले तीन महिनाभित्र चुनाव गराउनुपर्ने र उक्त चुनावमा हसिना नेतृत्वको अवामी लिगले पनि भाग लिने वाजेदले बताएका छन् । ‘अवामी लिग फेरि शक्तिमा आउनेछ भन्नेमा म पूर्ण विश्वस्त छु । यदि त्यो नभए हामी विपक्षी दल बन्नेछौं,’ उनले भने । अवामी लिगले फेरि हसिनालाई नै प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अगाडि सारेर चुनावमा जाने हो रु भन्ने प्रश्नमा वाजेदले आफ्नी आमाले यो कार्यकाललाई नै अन्तिम कार्यकाल बनाउने तयारी रहेको बताए ।
बरू देशले आवश्यक ठाने आफू नै राजनीतिमा आउने वाजेदले बताए । विपक्षी दलका नेता खालिदा जियाको वक्तव्यबाट आफू खुशी भएको पनि वाजेदले बताएका छन् । ‘बितेको कुरा बितिसक्यो भन्ने उहाँको धारणाले खुशी लाग्यो । विगतलाई बिर्सौं । बदलाको राजनीति नगरौं । एकताको सरकार होस् या नहोस्, मिलेर काम गर्नुपर्छ,’ उनले भने ।
वाजेदले बंगलादेशमा लोकतान्त्रिक चुनाव गराउन र लोकतन्त्रको पुनस्थापना गर्न तथा निष्पक्ष निर्वाचन गराउनका लागि मिलेर काम गर्न आफू तयार रहेको पनि बताएका छन् । वाजेदले आफ्नो आमा घर फर्कन र आन्दोलनको नेतृत्व गरेका विद्यार्थीहरूको माग र मुद्दाको सामना गर्न तयार रहेको पनि बताए । ‘पक्राउको धम्कीले मेरी आमालाई पहिले कहिल्यै डराएको थिएन। मेरी आमाले केही गल्ती गर्नुभएन । केवल उनको सरकारमा मानिसहरूले अवैध कामहरू गरे, यसको मतलब मेरी आमाले आदेश दिनुभएको होइन । यसको मतलब मेरो आमा यसको लागि जिम्मेवार हुनुहुन्छ भन्ने होइन,’ उनले भने ।