भरतपुर महानगरको गत आर्थिक वर्षमा पूँजीगत खर्च ५६ प्रतिशत मात्र

चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०८०÷०८१ को वार्षिक समिक्षा कार्यक्रममा पुजीगत खर्च कम वृद्धि हुन नसकेको निश्कर्ष निकालेको छ ।
बिहीबार र शुक्रबार गरी दुइ दिनसम्म चलेको समिक्षा बैठकमा महानगर प्रमुख रेनु दाहालले गत आर्थिक वर्षमा पूँजीगत तर्फ ५६ प्रतिशत मात्र खर्च भएको जानकारी दिनुभयो । विकास बजेट अझ खर्च हुनु पर्नेमा नभएको भन्दै आगामी दिनमा समस्यालाई समाधानगर्दै विकास खर्च वृद्धि गर्नु पर्ने बताउनुभयो । उहाँका अनुसार चालु तर्फ ८६ प्रतिशत खर्च भएको छ ।
प्रमुख दाहालले आर्थिक वर्ष ०८०÷०८१ को समिक्षाबाट निस्किएको समस्या, चुनौतीलाई अनुसन्धान, समस्याको निवारणका उपायहरु सुक्ष्म रुपले खोजी गरी चालु आर्थिक वर्षका कार्यलाई अगाडि बढाउन सम्पूर्ण कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो ।
प्रमुख दाहालले जिम्मेवार भई सेवा प्रवाह र सुशासन कार्य गर्दै दैनिक परिणाम देखिने गरी काम अगाडि बढाउन आग्रह पनि गर्नुभयो । उहाँले भरतपुरको सहरी पूर्वाधारमा उल्लेखनीय विकास भएपनि अन्य क्षेत्रमा उकृष्ट नतिजा हासिल गर्न नसकिएको बताउनुभयो ।
समिक्षा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले प्रगति समिक्षामा देखिएका केही सामाजिक विषयलाई समधान गर्न मिहिन ढङ्गबाट अगाडि बढाउनुपर्ने औल्याउनुभयो ।
समिक्षामा गत आर्थिक वर्षमा महानगरपालिकाले गरेका सम्पूर्ण कामहरूको प्रगति, समस्या र चुनौतीहरूको समिक्षा गरी चालु आर्थिक वर्षमा थप प्रभावकारी ढङ्गबाट बढ्ने नीति पनि लिइएको छ । समिक्षा कार्यक्रममा २९ वडाका सचिवहरूले गत आर्थिक वर्षमा भएका कामहरूको प्रगति, चुनौती र सम्भावनाका विषयमा प्रस्तुती राख्नु भएको थियो ।
समिक्षामा महाशाखा प्रमुखहरुले महाशाखा र अन्तर्गतका शाखाहरूले गरेका गतिविधिहरु प्रस्तुत गरेका थिए । योजनाहरूको छनोट समयमै मुल्याङ्कन र अनुगमन, आन्तरिक नियन्त्रण प्रणालीको सुदृढिकरण गर्ने विषयमा छलफल भएको थियो । सो अवसरमा राजश्व असुली, करका दर र दायराहरूको विस्तार र विकासकासाथै सामाजिक सुरक्षा, सुशासन र सेवा प्रवाह गर्न भूमिका खेल्ने बताइएको छ । २९ वटा वडा तथा महाशाखा गरी ३९ वटा प्रस्तुतीकरण गरिएको थियो ।

ताजा अपडेट